मुग्लिङमा ‘इच्छाकामना सुन्तला महोत्सव’ हुँदै

महोत्सवमा सुन्तलाका २५ र खानाका २५ स्टल रहने छन् ।

पुस ७, २०८२

रमेशकुमार पौडेल

'Ichchakamana Orange Festival' underway in Mugling

What you should know

चितवन — पहाडी भू–भाग ओगटेको चितवनको इच्छाकामना गाउँपालिकामा फलेका सुन्तला चाख्न मन छ ? आउँदो शुक्रबारदेखि मुग्लिङ बजार गए सुन्तलाका साथै त्यस क्षेत्रका परिकारहरुको स्वाद लिन पाउने अवसर छ ।

चितवन उद्योग संघ र होटल व्यवसायी संघको इच्छाकामना इकाईले संयुक्तरुपमा पुस ११ गते शुक्रबारदेखि पुस १५ गते मंगलबारसम्म सुन्तला महोत्सव तथा फुड फेस्टिबल आयोजना गर्दैछन् ।

दुई वर्षअघि इच्छाकामना गाउँपालिकाले नै सुन्तला फल्ने ठाउँ माझगाउँमै पहिलो सुन्तला महोत्सव गरेको थियो । त्यसैको निरञ्तरता स्वरुप यो पटक इच्छाकामना गाउँपालिका मुख्य प्रवर्द्धक रहेर दोस्रो सुन्तला महोत्व र फुड फेस्टिबल हुन लागेको हो । 

जसमा चितवन उद्योग संघ र होटल व्यवसायी संघ चितवन संरक्षक रहने छन् । महोत्सवमा सुन्तलाका २५ र खानाका २५ स्टल रहने छन् । महोत्सवबारे जानकारी दिन सोमबार बिहान भरतपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला खेतिबाट मात्रै इच्छाकामनामा वर्षमा १० करोड रुपैयाँ जति आम्दानी हुने बताए । 

सुन्तला खेति बढाउनका लागि गाउँपालिकाले किसानहरुलाई ४० हजार विरुवा वितरण गरेको पनि उनले जानकारी दिए ।

'Ichchakamana Orange Festival' underway in Mugling

‘मुग्लिङ बजारमाथि पर्ने तामिन गाउँ सुन्तलाका लागि प्रख्यात थियो । त्यहाँ अहिले घटेको छ । वडा नम्बर १ को हात्तीबाङ, वडा नम्बर २ को तल्लो काउले, वडा नम्बर ३ को माझगाउँ, सिरान गाउँ लगायतका पहाडी क्षेत्रमा सुन्तला राम्रो फलेको छ’, अध्यक्ष गुरुङले भने ।

सुन्तलाका बोटमा समस्या देखिएका कारण निराकरणका लागि महोत्सवम विज्ञहरु बोलाएर गोष्ठी राख्ने आयोजकले बताए । इच्छाकामना क्षेत्रका सुन्तला राम्रा र स्वादिला भएका कारण धेरैले रुचाएका छन् ।

महोत्सवमा आउनेले सुन्तला किन्न पनि पाउने चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । त्यसै गरी मुग्लिङ क्षेत्र यात्रुहरुले मिठो खाना र खाजा खान पाउने बजारका रुपमा देशभर परिचित छ । 

फुड फेष्टिवलमा मुग्लिङमा पाक्ने थकाली खानादेखि चितवनको पहाडी भेगमा परिकारहरु पनि हुने होटल व्यवसायी संघ इच्छाकामना इकाइका अध्यक्ष पुजन भण्डारीले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully