पालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालयमा विद्युतीय हाजिरी जडान गरी कार्यान्वयन गरेको पालिकाका शिक्षा अधिकृत दिपेन्द्र अधिकारीले बताए ।
What you should know
हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक र कर्मचारीहरुलाई अनुशासित र उनीहरुको उपस्थितिलाई पारदर्शी बनाउन १० वटा विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको हो ।
पालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालयमा विद्युतीय हाजिरी जडान गरी कार्यान्वयन गरेको पालिकाका शिक्षा अधिकृत दिपेन्द्र अधिकारीले बताए ।
पालिकाले कैलाश गाउँपालिका–९ स्थित कालिका मावि, कैलाश–१० स्थित रत्नज्योति मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–८ स्थित धुवाङ मावि, कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–७ स्थित व्यास माविमा विद्युतीय हाजिरी जडान गरिएको छ ।
यसैगरी कैलाश–१ स्थित आधारभूत विद्यालय, कैलाश–२ स्थित सरस्वती आवि, कैलाश–५ स्थित कृष्ण आवि र कैलाश–७ स्थित शक्तिशाली आविमा विद्युतीय हाजिरी जडान गरेको शिक्षा शाखा अधिकृत अधिकारीले जानकारी दिए ।
‘समयमा विद्यालयमा उपस्थित नहुने र अपरान्ह ४ बजेसम्म पनि स्कुलमा नबस्ने प्रवृतिलाई निरुत्साहित गर्नका लागि स्कुलमा विद्युतीय हाजिरीको व्यवस्था गरेका हौं,’ गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले भने,‘ई–हाजिरीले शिक्षक र कर्मचारीलाई अनुशासित बनाउने अपेक्षा गरेका छौं ।’
विद्युतीय हाजिरी जडानपछि शिक्षक हाजिरी रजिस्टर विस्थापित गर्ने, शिक्षकहरूको हाजिरी व्यवस्थापनलाई पारदर्शी, अनुशासित तथा प्रविधिमैत्री बनाउँदै केन्द्रीय सरकारी एकीकृत हाजिरी व्यवस्थापन प्रणालीसँग जोड्ने उद्देश्यले विद्यालयमा विद्युतीय हाजिरी उपकरण जडान गरी कार्यान्वयन गरिएको पालिकाले जनाएको छ ।
पालिकाभित्र ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि गरी ४३ वटा विद्यालय रहेका छन् । पालिकाको शिक्षा शाखा अधिकृत अधिकारीका अनुसार पालिकाभित्र ४३ सामुदायिक विद्यालयमा ४ हजार ८ सय ९२ विद्यार्थी अध्ययनरत छन् । उक्त गाउँपालिका चेपाङ बाहुल्य रहेको पालिका हो ।
