बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुईवटा कोठा, भान्सा र चर्पीसहितको पक्की घर आइतबार हस्तान्तरण गरे ।
हेटौंडा — मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको ध्रुस्राङका ५४ वर्षीय लालकुमार चेपाङ दम्पतीले पक्की घर पाएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुईवटा कोठा, भान्सा र चर्पीसहितको पक्की घर आइतबार हस्तान्तरण गरे । मुख्यमन्त्री बानियाँले आफूले पाउने सेवा सुविधाको रकमबाट कैलाश–४ धुस्राङका ५४ वर्षिय लालकुमार चेपाङ दम्पतीलाई पक्की घर हस्तान्तरण गरेका हुन् ।
८ लाखको लागतमा घर निर्माण भएको हो । पालिकाका समाजसेवी राजेन्द्र घिसिङ र पविन चेपाङको सक्रियतामा घर निर्माण सम्भव भएको हो ।
खरको छानामा भएको कतरे घरमा बस्दै आएका चेपाङ दम्पतीलाई घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफूले पाउने सेवा सुविधावाट घर बनाएको बताए । 'मैले राजनीति गरेको धन कमाउन होइन, गरिब दु:खीको सेवा गर्नालाई हो,' उनले भने ।
पक्की घर पाउँदा चेपाङले खुसी हुँदै भने, ‘यस्तो पक्की घरमा बस्न पाइएला भन्ने सोचेकै थिइनँ ।'
गाउँपालिकाले छनोट गरेर सिफारिस गरेका आधारमा मुख्यमन्त्री बानियाँले पक्की घर बनाइदिएका हुन् । उनले यसअघि मनहरी गाउँपालिका-९ ज्यामिरे बारघरेकी मिठुमाया सुनारलाई पनि पक्की घर बनाएर हस्तान्तरण गरेका थिए । राक्सिराङ गाउँपालिका–१ इन्दुङका सुमनसिंह चेपाङका लागि पनि घर निर्माणाधीन अवस्थामा छ ।
