किर्ते नागरिकता प्रमाणपत्र बनाएको र झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ।
What you should know
हेटौँडा — किर्ते नागरिकता प्रमाणपत्र बनाएको र झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको एकल इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
त्यसैगरी, इजलासले बकैया गाउँपालिका–४ का पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद र एक लाख ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवप्रसाद कौशिकका अनुसार नागरिकतातर्फ पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरणतर्फ तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको हो।
पूर्णबहादुर भ्लोनले आफ्नो आमाको नाम उमादेवी गुरुङ उल्लेख गरी वडा कार्यालयमा सिफारिस माग गरेका थिए। वडा कार्यालयले २०८० मंसिर १८ गते सर्जमिन मुचुल्का गर्दा रामबहादुर न्यासुरलगायतले पूर्णबहादुरकी आमा उमादेवी नै भएको भनी सर्जमिन गरेका थिए।
सर्जमिनको आधारमा वडा कार्यालयले पूर्णबहादुरकी आमा उमादेवी भएको सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उमादेवीको नाममा रहेको जग्गा पूर्णबहादुरको नाममा नामसारी गरिएको थियो। तर, पूर्णबहादुरकी वास्तविक आमा कान्छीमाया भ्लोन रहेको अदालतले ठहर गरेको छ।
अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका वडाध्यक्ष राजन दंगाल, पूर्णबहादुर भ्लोन, रामबहादुर न्यासुर र जमानसिंह भ्लोन पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन्।
