घाइते सबैको अवस्था सामान्य रहेको छ।
What you should know
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–९ प्रगति चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९:४५ बजे हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
सोही क्रममा ईभी गाडीले फेरि विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ईभी गाडी, स्कुटर र स्कार्पियो पिकअप गरी तीनवटै सवारी साधनमा क्षति पुगेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
हेटौंडा अस्पतालमा उपचार गराइरहेकामा ईभी गाडीमा सवार हेटौंडा–४ कर्राकी ३७ वर्षीया सरस्वती राणाको बायाँ हातमा चोट लागेको छ । स्कार्पियोमा सवार भोजपुर षडानन्द नगरपालिका–१० का ६६ वर्षीय हेमसाङ तामाङको टाउकोमा चोट लागेर घाइते भएका छन् भने उनकी पत्नी ५९ वर्षीया राजकुमारी तामाङको दुवै खुट्टामा चोट लागेको छ।
मकवानपुर सहकारी अस्पतालमा उपचारका लागि पुर्याइएकामध्ये ईभी चालक हेटौंडा–१५ रातोमाटेका २५ वर्षीय सुमन लामा घटनास्थलमै बेहोस भए पनि अस्पताल ल्याउनासाथ होसमा आएका थिए। ईभीमा सवार मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका ७८ वर्षीय टीकाप्रसाद तिमिल्सिनाको निधारमा चोट लागेको छ।
स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा दाहिने खुट्टामा चोट लागेर घाइते भएका छन् भने स्कुटरको पछाडि सवार उनकी ५ वर्षीया छोरी ग्रेसी रुम्बाको टाउकोमा चोट लागेको छ।
