१६ किशोरीसहित २० महिला पाल्दोर हिमशृंखलातर्फ

माउन्टेन लिडरसीप ट्रेनिङका लागि छानिएका २० जनाको टोलीमा १६ किशोरी, सहयोगी र प्रशिक्षकलगायत सहभागी छन् ।

पुस ३, २०८२

अनिश तिवारी

20 women, including 16 teenagers, head to Paldor mountain range

What you should know

सिन्धुपाल्चोक — उपत्यकानजिकैका मनमोहक हिमशृंखलाको साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित ‘माउन्टेन लिडरसिप’ प्रशिक्षणका लागि २० महिला काठमाडौंबाट पाल्दोर हिमशृंखलातर्फ प्रस्थान गरेका छन् ।

विश्व समावेशी साहसी संस्था (ग्लोबल इन्क्लुसिभ एडभेन्चर– जीआईए) की पूर्वअध्यक्ष तथा पर्वतारोही माया गुरुङका अनुसार १६ देखि ३८ वर्ष उमेर समूहका सहभागी महिला बिहीबारदेखि पिक आरोहण यात्रामा सक्रिय भएका हुन् । 

‘बुधबार काठमाडौंबाट हिँडेका उनीहरू अहिले गत्लाङ हुँदै पर्यटकीय ट्रेकिङ रुटको उकालो यात्रामा छन् । यात्राकै क्रममा हिमाली मार्ग पहिचान र अभ्यास गर्दै पाल्दोर पिकको पुराना रुटतर्फ धमाधम अघि बढिरहेका छन्,’ उनले भनिन् ।

संस्थाको फिमेल लिडरसीप एकेडेमीबाट माउन्टेन लिडरसीप ट्रेनिङका लागि छानिएका २० जनाको टोलीमा १६ किशोरी, सहयोगी र प्रशिक्षकलगायत सहभागी छन् । 

गोरखाको गणेश हिमशृंखलाकै आसपास रहेको ५ हजार ८ सय ९६ मिटर अग्लो पाल्दोर पिक आरोहण र प्रशिक्षण दुई सातासम्म चल्नेछ । पाल्दोर हिमाल गणेश हिमशृंखलामा पर्छ र यसको भू–अवस्थिति गोरखा–धादिङ–रसुवा तीन जिल्लाको संगम नजिकै छ । यो प्रशिक्षणमा सहभागीहरूले पर्वतारोहणका आधारभूतदेखि उन्नत सीप सिक्नेछन् । 

प्रसिद्ध सगरमाथा पर्वतारोही फुराडुकी शेर्पा, कर्मा शेर्पालगायत प्रशिक्षकबाट ट्रेकिङ म्याप अध्ययन, म्याप नेभिगेसन, प्राथमिक उपचार, हिमाली यात्रामा आवश्यक सामग्री र तयारीसम्बन्धी प्रयोगात्मक तालिम दिइनेछ । काठमाडौं नजिकै रहेका सिन्धुपाल्चोकका जुगल , सेमिसिदाङ, दोर्जेलाक्पा, रसुवाको लाङटाङ, दोलखाका गौरीशंकर हिमशृंखला लगायत क्षेत्रका हिमालमा साहसिक पर्यटन विस्तार गर्ने उद्देश्यले यस्ता तालिम र यात्रा आयोजना गरिएको आयोजकको भनाइ छ । 

तालिममा सिन्धुपाल्चोकसहित देशका विभिन्न जिल्लाबाट किशोरी तथा युवती सहभागी छन् । हिमालमा महिलाको नेतृत्व सशक्त बनाउने लक्ष्यसहित सुरु गरिएको ‘माउन्टेन लिडरसीप’ कार्यक्रमले पर्वतारोहण क्षेत्रमा महिलाको आत्मविश्वास, सीप र नेतृत्व क्षमतामा थप निखार ल्याउने अपेक्षा गरिएको छ । 

पाल्दोर हिमालको काखबाट गणेश हिमाल, मनास्लु र लाङटाङलगायतका भव्य हिमशृंखलाको दृश्यावलोकनसमेत गर्न सकिनेछ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully