केन्द्रमा पत्रकार कल्याण कोषका नाममा साधारण सदस्यसँग उठाइएको रकम जिल्लामै फर्काइने व्यवस्था गर्न महासंघको काभ्रे शाखा अध्यक्ष न्यौपानेको माग ।
काभ्रे — नेपाल पत्रकार महासंघ काभ्रेको ३३ औं स्थापमा दिवसको अवसरमा 'पत्रकारिता दर्पण' स्मारिका विमोचन गरिएको छ । महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बाग्मती प्रदेश जिल्ला अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष विनोदकुमार न्यौपाने एवं जिल्लाका पूर्वअध्यक्षहरूले बुधबार संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् ।
स्मारिकामा काभ्रेली पत्रकारिताको इतिहासदेखि नयाँ युगको पत्रकारितासम्मका विषयवस्तु समेटिएको शाखा अध्यक्ष न्यौपानेले बताए । स्थापना दिवसकै अवसरमा केन्द्रीय अध्यक्ष शर्माले काभ्रे शाखाको वेबसाइट पनि सार्वजनिक गरिन् ।
कार्यक्रममा अध्यक्ष शर्माले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेकाले सबै पक्ष चनाखो हुनुपर्ने भन्दै पत्रकार महासंघ निरन्तर संवैधानिक सर्वोच्चता र अभिव्यक्ति स्वतन्त्रताको वकालतमा लागिरहने बताइन् ।
मुलुक संघीयतामा प्रवेशपछि पत्रकार महासंघको केन्द्रीय समिति नीतिगत विषयमा केन्द्रित भएको र प्रदेश तथा जिल्ला शाखामा पत्रकारको क्षमता अभिवृद्धि लगायतका विषयमा जिम्मेवारी बढेको उनले बताइन् । प्रविधिको उच्चतम प्रयोग भइरहेको, डिजिटल मिडियाको संख्या बढिरहे पनि छापा माध्यमको महत्त्व अझै नघटेको शर्माको भनाइ थियो ।
महासंघको काभ्रे शाखा अध्यक्ष न्यौपानेले जिल्लामा रहेका सबै पत्रकारको ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गर्ने घोषणा गरे । केन्द्रमा पत्रकार कल्याण कोषका नाममा साधारण सदस्यसँग उठाइएको रकम जिल्लामै फर्काइने व्यवस्था गर्न पनि उनले माग गरे । पत्रकार महासंघ काभ्रेले जिल्लामै १० लाख रुपैयाँबराबरको कल्याणकोष स्थापना गरेको पनि उनले जानकारी गराए ।
