अन्दाजी ७ लाख २२ हजार १० रुपैयाँ बराबरको किराना सामान बोकेको उक्त गाडीका चालक बाह्रबिसे नगरपालिका–६ मान्द्राका ३६ वर्षीय शिवलाल तामाङलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो।
सिन्धुपाल्चोक — सशस्त्र प्रहरीले बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसे बजार क्षेत्रमा बिल, बिजक र भन्सार प्रज्ञापन पत्रविनै ल्याइँदै गरिएको चिनियाँ किराना सामानसहित एक मिनी टिपर गाडी नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल १६ नम्बर हेडक्वाटर बन्देउका प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँका अनुसार सोमबार राति करिब ११:४५ बजे तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको मिनी टिपर जाँचका क्रममा रोक्दा आवश्यक कागजात नपाइएको अवस्थामा चिनियाँ किराना सामान फेला परेको हो।
उनका अनुसार अन्दाजी ७ लाख २२ हजार १० रुपैयाँ बराबरको किराना सामान बोकेको उक्त गाडीका चालक बाह्रबिसे नगरपालिका–६ मान्द्राका ३६ वर्षीय शिवलाल तामाङलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो।
लामोसाँघु सशस्त्र प्रहरी बलले गाडी नियन्त्रणमा लिएको र गाडीको अन्दाजी मूल्य १५ लाख रुपैयाँ रहेको जनाइएको छ। बरामद सामान र गाडीको जम्मा अन्दाजी मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ।
नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
