एसियाकै तेस्रो प्राकृतिक साहसिक खेल मानिने बन्जी जम्प पूरा गरेपछि सिन्धुलीको कमलामाई नगरपालिका–४ की दीपा देवकोटाले ‘मृत्युलाई जितेजस्तै अनुभूति’ भएको बताइन्।
सिन्धुपाल्चोक — अपाङ्गता भएकी एक महिलाले ह्विलचेयरसहित बन्जी जम्प गर्दै साहसिक खेलकुदको क्षेत्रमा नयाँ इतिहास रचेकी छन् । सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी दीपा देवकोटाले मंगलबार भोटेकोशी गाउँपालिकाको मार्मिङ र लिस्तीकोटबीच रहेको १६० मिटर उचाइको नयाँ पुलबाट बन्जी जम्प गरेकी हुन्।
एसियाकै तेस्रो प्राकृतिक साहसिक खेल मानिने उक्त बन्जी जम्प पूरा गरेपछि देवकोटाले ‘मृत्युलाई जितेजस्तै अनुभूति’ भएको बताइन्। जन्मदिनकै अवसर पारेर गरिएको यो साहसिक प्रयासले साहस, आत्मविश्वास र समावेशी क्षमताको सशक्त सन्देश दिएको पनि उनले बताइन् ।
‘अपाङ्गता कमजोरी होइन,’ उनले भनिन्, ‘आत्मबल र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिले पनि सबै क्षेत्रमा आफूलाई सक्षम रूपमा स्थापित गर्न सक्छन्। मेरो यो प्रयासले अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइमा आत्मविश्वास जगाओस् भन्ने चाहना छ।’
स्पाइनल बाइफिडाका कारण शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले गरेको यो साहसिक कदमले समाजमा व्याप्त नकारात्मक धारणालाई चुनौती दिएको छ। उनी अपाङ्गता अधिकारकर्मीसमेत हुन्।
देवकोटा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी संघीय सदस्य तथा सिन्धुली अपाङ्ग महिला संघकी अध्यक्ष हुन्। उनको यस प्रयासले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका सबै गतिविधिमा समान सहभागिता जनाउन सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।
