राप्ती पुलको पिलरलाई ‘ज्याकेटिङ’

हेटौंडा उपमहानगरपालिका—१० र ११ वडाको बीचमा रहेको उक्त पुल भएर दैनिक १० हजार भन्दा बढी सवारीसाधन आउजाउ गर्छन् ।

मंसिर २९, २०८२

प्रताप बिष्ट

'Jacketing' of Rapti Bridge pillars

हेटौंडा — पूर्वपश्चिम राजमार्गको हेटौंडास्थित राप्ती खोलामा रहेको पुलको पिलरमा ‘रेक्टोफिटिङ’सहित ‘ज्याकेटिङ’ गर्ने काम सकिएको छ ।

पुलका चार वटा पिलरको ‘रेक्टोफिटिङ’सहित ‘ज्याकेटिङ’ गर्ने काम आइतबार सकिएको हो । डिभिजन सडक कार्यालय हेटौंडाका ईन्जिनियर एव सूचना अधिकारी यादव सुवेदीले उक्त काममा प्राविधिकसहित १२ जना कामदार खटिएर ११ दिनमा सकिएको बताए ।  

बाढीले क्षतिग्रस्त बनाएका चार वटा पिलरमा ‘रेक्टोफिटिङ’सहित ‘ज्याकेटिङ’ गर्ने काम मंसिर १७ गते सुरु गरेको थियो । पिलरको अध्ययन गर्न पुल विशेषज्ञ शिव पौडेलको टोलीले अध्ययनपछि सडक विभागलाई दिएको प्रतिवेदनका आधारमा चार वटा पिलरलाई ‘रेक्टोफिटिङ’सहित ‘ज्याकेटिङ’ गर्ने काम  सुरु गरिएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले वताए  ।

वर्षायाममा आएको राप्ती खोलाको बाढीको वहावले पिलरहरुलाई धक्का दिने गरेको छ । जसका कारणले पिलरको सिमेन्ट बगाएर फलामका रड देखिएका थिए । फलामका रड देखिएका ठाउँमा फर्मा ठोकेर सिमेन्टको ‘ज्याकेटिङ’ गरेपछि पिलर सुरक्षित रहने ईन्जिनियर निरज महर्जनले बताए । 

२ सय १० मिटर लम्बाई रहेको उक्त पुलको सात वटा पिलर रहेका छन् । जसमध्ये चार वटा  पिलरको फलाम बाहिर देखिएकाे थियाे । ४३ वर्षअघि भारतीय कम्पनीले निर्माण गरेको उक्त पुलको २०५९ सालमा हेटौंडातर्फको पहुँच मार्ग बाढीले बगाएको थियो । निर्माण गरेयता पुलको मर्मत कार्य भएको थिएन । 

हेटौंडा उपमहानगरपालिका—१० र ११ वडाको बीचमा रहेको उक्त पुल भएर दैनिक १० हजार भन्दा बढी सवारीसाधन आउजाउ गर्छन् । पुल निर्माण हुनु भन्दा अघि राप्ती खोलामा कजवे बनाइएको थियो । 

प्रताप

Link copied successfully