पूर्वलडाकु दनुवारले १० वर्षपछि पाए सुरक्षित घर

यो घर पूर्वलडाकु दनुवारका लागि केवल आवास मात्र नभई, वर्षौंदेखिको अभाव र पीडामाथि भरोसाको आधार बनेको स्थानीयवासीले बताए ।

मंसिर २९, २०८२

अनिश तिवारी

Former fighter Danuwar gets safe home after 10 years

What you should know

सिन्धुपाल्चोक — सशस्त्र जनयुद्धका क्रममा गम्भीर घाइते भएका पूर्वलडाकु हरिबहादुर दनुवारले भूकम्प गएको १० वर्षपछि सुरक्षित आवास पाएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीका दनुवारका लागि स्थानीय सहयोग र पार्टीको पहलमा दुई कोठे घर निर्माण गरिएको हो।

गाउँपालिका समिति संयोजक दिलबहादुर वाइवाका अनुसार जिन्सी सामग्रीतर्फ १ लाख ६७ हजार रुपैयाँ बराबरको सहयोग जुटेको छ भने नगदतर्फ ३ लाख १५ हजार ६ सय ९० रुपैयाँ संकलन भएको छ।

सोमबार प्रदेशसभा सदस्य युवराज दुलालले घरको उद्घाटन गर्दै दनुवारलाई घरको चाबी हस्तान्तरण गरेका थिए ।  'भूकम्प गएको लामो समयपछि घर पाएँ, शान्ति प्रक्रियामा योगदान दिएका घाइते तथा अपांग पूर्वलडाकुको जीवन सहज बनाउनु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएकाले यसमा लाग्यौं,' प्रदेशसभा सदस्य दुलालले भने । 

जनयुद्धका क्रममा तीनपटक मृत्युको मुखबाट फर्किएका दनुवारले देशका लागि लड्दा एउटा आँखा र देब्रे हातका तीन औँला गुमाएका थिए। शान्ति प्रक्रियापछि भने उनी परिवारसहित वर्षौँसम्म असुरक्षित टहरोमा बस्न बाध्य भएका थिए। वर्षातमा चुहिने छानो र जाडोमा न्यानो नहुने अवस्थाले उनको दैनिकी कठिन बन्दै आएको थियो ।

नेपाली कम्युनिस्ट पार्टी पाँचपोखरी थाङपाल गाउँपालिका समितिको अगुवाइमा सुरु गरिएको सहयोग अभियानमा स्थानीयवासी र शुभेच्छुकले साथ दिएका थिए ।

नयाँ घर पाएसँगै दनुवार परिवारले अब सुरक्षित र सम्मानजनक जीवनयापनको आशा गरेका छन्। यो घर पूर्वलडाकु दनुवारका लागि केवल आवास मात्र नभई, वर्षौँदेखिको अभाव र पीडामाथि भरोसाको आधार बनेको स्थानीयवासीले बताए ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully