चितवनमा पोहोरको तुलनामा डेंगी संक्रमण घट्दो

गत आर्थिक वर्षमा १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्युसमेत भएको थियो ।

मंसिर २८, २०८२

रासस

Dengue infections decreasing in Chitwan compared to last year

चितवन — जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेंगी र स्क्रब टाइफसको संक्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मंसिरमा दुवै रोगको संक्रमण घटेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार पोहोर मंसिरमा ११३ जनामा डेंगी देखिएकामा यस वर्ष १२ जनामा मात्र यो रोगको संक्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा ५ हजार ९२३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेंगी देखिएको हो । 

गत आवकोे मंसिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको संक्रमण देखिएको थियो । गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो । 

जिल्लामा गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मंसिरमा ११३ जनामा डेंगी देखिएको घिमिरेले बताए । यस वर्ष साउनमा ४२, भदौमा ४४, असोजमा २९, कात्तिकमा ४७ र मंसिरमा १२ जनामा डेंगी देखिएको छ । 

गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेंगी संक्रमण कम पाइएको उनले बताए । 'पुस लागेसँगै यो रोगको संक्रमण घट्दै जान्छ,' उनले भने । 

यो रोग बढी मात्रामा सहरी क्षेत्रमा देखिएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । डेंगी प्रजाति कुन हो र कसरी यसको विकास भएको छ भन्ने अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

रासस

Link copied successfully