नेपाल कुखुरा व्यवसायी मञ्चले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने जानकारी गराएको छ ।
What you should know
चितवन — कुखुरापालन व्यवसायीले अण्डाको उत्पादन लागत मूल्य बढेको बताएका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने जानकारी गराएको छ ।
कुखुरापालन व्यवसायीले अण्डाको उत्पादन लागत मूल्य बढेको बताएका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने जानकारी गराएको छ ।
मञ्चको असोज २३ मा सम्पन्न बैठकले लागत मूल्य निर्धारणका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)का प्रध्यापकहरुको टोली गठन गरेको थियो । ‘एएफयूका प्राध्यापक डा.रेवन्तकुमार भट्टराईको संयोजकत्वमा सहप्रध्यापक डा.अनिलकुमार तिवारी, डा.विष्णुहरि शर्मा र सदस्य सचिव उपप्रध्यापक अनन्त दाहाल रहने गरी विज्ञ समिति बनाएका थियौं,’ नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले भने । दुई वर्षअघि पनि मञ्चले बनाएको यस्तै समितिले अण्डाको लागत मूल्य प्रतियोटा १६ रुपैयाँ ५६ पैसा तय गरेको थियो ।
अण्डा उत्पादक किसानले लागत मूल्य नपाएको गुनासो गरेपछि नयाँ लागत मूल्य निर्धारण गर्न समिति बनाएको अध्यक्ष भट्टले बताए । बजार मूल्य, अण्डा उत्पादनको अवस्था, श्रमिकको ज्याला, विद्युत, औषधि, खोपलगायतका सामग्रीको भाउ विश्लेषण गरेर विज्ञहरुले नयाँ मूल्य सिफारिस गरेको उनले बताए । अहिले पुरानो लागत मुल्य अनुसार अण्डाको बिक्री भइरहेको छ । अहिले उपभोक्ताले ठाउँ हेरी एउटा अण्डालाई २४/२५ रुपैयाँ तिर्नु परेकाले अब नयाँ लागत मूल्य कायम गर्नुपर्ने अवस्था रहेको अध्यक्ष भट्टले बताए ।
उपभाेक्ता अधिकारकर्मी अधिवक्ता ज्योति बानियाँले व्यवसायीका संघसंगठनले मूल्य तोक्न नपाउने र लागत मूल्य कायम गर्न पनि निश्चित नियम, निकाय र विधि रहेका कारण यसको पालना हुनुपर्ने बताए । ‘लागत मूल्यका विषयमा अफ्ठ्यारो परेको हो भने सरकारलाई अनुरोध गरेर त्यसैका आधारमा प्रक्रियागत तरिकाले तय हुने नियम छ,’ बानियाँले भने ।
अध्यक्ष भट्टले नयाँ लागत मूल्यका बारेमा जिल्लाका सरोकारवाला निकाय सबैसँग छलफल गरेर पारित गरेको बताए । ‘जिल्लाका सरकारी र गैरसरकारी र व्यवसायिक संघसंगठनसँग छलफल गरेका छौं,’ उनले भने । छलफलमा सबै सरोकारवाला सहमत भएपछि नयाँ लागत मूल्य सार्वजनिक गरेको उनले बताए । ‘हामी प्रदेश र संघीय सरकारका निकायहरुमा पनि नयाँ मूल्य र यससँग सम्बन्धित दस्तावेज पठाउने छौं । उचित लागे स्वीकार गर्नु हुने छ,’ भट्टले भने ।
उनले लागत मूल्यका बारेमा गल्तीकमजोरी भए सरकारका निकायहरुले सच्याउनु पर्ने नभए यसैलाई समर्थन गर्नुपर्ने बताए । ‘उत्पादन लागत अनुसारको मूल्य छैन । अहिले व्यापार नै घटेको छ । कुखुरापालकहरु बैंक ऋणको मारमा परेका छन् । व्यवसायबाट विस्थापित हुने दर बढेको छ,’ व्यवसायी मञ्चका अध्यक्ष भट्टले भने ।
लागत मूल्य निर्धारण समितिका सदस्य सचिव अनन्त दाहालले १० हजार कुखुरा पालेर अण्डा उत्पादन गरी बजारसम्म पुर्याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेको जानकारी दिए । पालेका सबै कुखुरा नबच्ने, बचेकाले पनि शतप्रतिशत अण्डा नदिने, नोक्सान हुने जस्ता सबै कुरा अध्ययन गरी लागत मूल्य निर्धारण गरेको दाहालले बताए ।
