हेटौंडामा खैरो हिरोइनसहित ६ जना पक्राउ 

हेटौंडाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

मंसिर २६, २०८२

सुवास विडारी

6 people arrested with brown heroin in Hetauda

What you should know

मकवानपुर — मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट खैरो हिरोइनसहित ६ जनालाई पक्रेको छ ।

हेटौंडा–१५ रातोमाटेस्थित पूर्वपश्चिम सडक खण्डमा हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ज ७९८३ नम्बरको इभी गाडीबाट प्रहरीले खैरो हिरोइनसहित ३ जनालाई पक्रेको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ का २८ वर्षका कर्ण गुरुङको साथबाट १ ग्राम ६२० मिलिग्राम फेला खैरो हिरोइन फेला पारेको हो । यस्तै, प्रहरीले बागमती प्रदेश ०६-००१ ज ०४४१ नम्बरको इभी गाडीबाट हेटौंडा–१२ का २७ वर्षीय सन्तोष आले मगर र मनहरी गाउँपालिका–३ का ३० वर्षका सानुकान्छा राईलाई पक्रेको छ । उनीहरुको साथबाट ४८० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले रातोमाटेबाटै मोटरसाइकलमा खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्रेको छ । हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३-०३१ प ६९९० नम्बरको मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका ३१ बस्ने २१ वर्षका शिव पासवान र मोटरसाइकल पछाडि रहेका त्यही ठाउँका २३ वर्षका नीरज चौधरीलाई पक्रेको हो ।

शंकाको आधारमा खानतलासी गर्दा उनीहरूले जुत्ताभित्र लुकाएर ल्याइएको अवस्थामा १६० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए ।

यसैगरी मकवानपुर प्रहरीले हेटौंडा–५ सानोपोखराबाट खैरो हिरोइनसहित एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा–९ त्रिवेणी बस्ने २२ वर्षका समित थापा मगर रहेका छन् । मगरको साथबाट २४ पोका खैरो हिरोइन फेला पारेको हो । उक्त खैरो हिरोइनको परिमाण ४ ग्राम २७० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मगरले प्रयोग गरेको ना २३ प ४३४ नम्बरको मोटरसाइकललाईसमेत नियन्त्रणमा लिएको छ ।

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको निमित्त प्रवक्ता कुर्मीले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully