नेपालगन्जका १८ वर्षीय सुदीप खत्रीको मृत्यु
काभ्रे — पनौती नगरपालिका वडा नम्बर-५ स्थित आइटी पार्कमा रोकिराखेको टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार बुधबार राति १० बजे बनेपा–पनौती सडकखण्डअर्न्तगत आइटी पार्कमा पनौतीबाट बनेपातर्फ रोकिराखेको बा २ क ७३५० नम्बरको टिपरमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२–०१७ प ०४०६ नं.को मोटरसाइकल ठोक्किएको थियो ।
त्यसपछि उक्त मोटरसाइकल पुनः बनेपाबाट पनौतीतर्फ जान रोकिराखेको बा.प्र.०१–००६ ख २२१७ नम्वरको टिपरमुनि छिरी दुर्घटना हुँदा मोटरसाइकल चालक १८ वर्षीय सुदीप खत्री गम्भीर घाइते भएका थियो ।
नेपालगन्ज स्थायी घर भएका खत्रीलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगेकोमा डाक्टरले बुधबार राति मृत घोषणा गरेको जानकारी अस्पतालबाट प्राप्त भएको छ ।
दुईवटै टिपर चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
