काठमाडौं विश्वविद्यालयका २ हजार २०९ विद्यार्थी दीक्षित हुँदै

बुधबार हुने दीक्षान्त समाहरोहमा १७ देशका १९६ जना विदेशी विद्यार्थी पनि रहनेछन् ।

मंसिर २२, २०८२

ज्योती श्रेष्ठ

2,209 students of Kathmandu University are graduating

What you should know

काभ्रे — काठमाडौं विश्वविद्यालयका २ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन् । बुधबार आयोजना हुने ३१औं दीक्षान्त (पहिलो चरण) मा विश्वविद्यालयका २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने भएका हुन् । 

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. सान्तीश्री धुलिपुडी पण्डित प्रमुख अतिथि रहनेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन सहभागी पनि सहभागी हुने कार्यक्रम छ । 

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्ट्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ विद्यार्थी दीक्षित हुने सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत (१ हजार १ सय ५४ जना) र महिला ४७.७६ प्रतिशत (एक हजार ५५ जना) रहनेछन् ।

दीक्षितमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रील्का, स्विडेन, अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना विदेशी रहनेछन् ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले विश्वविद्यालयको विस्तारित शैक्षिक योजना, विदेशी प्राध्यापकहरूको संलग्नता, र आगामी अन्तर्राष्ट्रिय तथा संस्थागत कार्यक्रमबारे विस्तृत जानकारी दिएका थिए । उनका अनुसार, विदेशी प्राध्यापकहरूको सहभागिताले विद्यार्थी तथा अध्यापक दुवैको शैक्षिक प्रतिस्पर्धा र गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्ने भएकाले केयूले अन्तर्राष्ट्रिय फ्याकल्टीहरूको आकर्षणलाई प्राथमिकतामा राखेको छ । बढ्दो विद्यार्थी संख्यालाई मध्यनजर गर्दै विश्वविद्यालयले ३५ नयाँ प्राध्यापक/सहप्राध्यापक/उपप्राध्यापक दरबन्दी थप्ने प्रस्ताव सिनेटमा लैजाने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार, पछिल्लो समय काठमाडौं विश्वविद्यायमा विद्यार्थीको संख्यमा २३ प्रतिशत वृद्धि भएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully