पट्टी खोल्दा अगाडि पत्नी देखे अनि सानुकान्छा मुसुक्क हाँसे

'बुढीको अनुहार दुई वर्षदेखि देख्न पाएको थिइनँ । अहिले दुवै आँखाले देख्न पाएँदा निकै खुसी लागेको छ,' उनले हाँस्दै भने ।

मंसिर २१, २०८२

प्रताप विष्ट

When he opened the bandage, he saw his wife in front of him and smiled.

हेटौंडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ भालुखर्कका ८१ वर्षीय सानुकान्छा स्याङ्तान दुई वर्षअघिसम्म मजाले आँखा देख्थे । 

बिस्तारै समस्या बढ्दै गएपछि २०८० सालदेखि दुवै आँखाको ज्योति गुमाए । उनलाई भित्रबाहिर गर्न नातिनीले सहयोग गर्दै आएकी थिइन् । 

इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित आँखा शिविरमा उनी नातिनीकै सहयोगमा परीक्षण गराउन आइपुगे । चिकित्सकले परीक्षण गर्दा थाहा भयो- उनका दुवै आँखामा मोतियाविन्दु भएको रहेछ ।

परीक्षणपछि उनलाई शल्यक्रियाका लागि शनिबार इन्द्रसरोवरको खानीखेतमा बोलाइएको थियो । जहाँ रोटरी क्लब हेटौंडा, सामुदायिक आँखा अस्पताल हेटौंडा र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त आयोजामा शिविर चलिरहेको थियो । त्यही शिविरमा सानुकान्छाको पनि आँखाको शल्यक्रिया भयो ।

शिविरमा पुगेका कुल ६७ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका सामुदायिक आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. सुनिल थकालीले बताए । पाँच स्थानमा गरिएको शिविरमा ३ सय ५० जनाको आँखा परीक्षण गरिएको थियो । 

शल्यक्रियापछि चिकित्सकले सबैका आँखामा पट्टी लगाइदिएका थिए । जुन आइतबार खोलिएको छ ।

डा. थकालीले सानुकान्छाका दुवै आँखामा लगाएको पट्टी खोलिदिए । अगाडि उनकी पत्नी बसिरहेकी थिइन् । पट्टी खोल्नासाथ उनले अगाडि हेरे र पत्नी देखेपछि मुसुक्क हाँसे । 

दुई वर्षपछि दुवै आँखाको ज्योति फर्केपछि सानुकान्छा दंग छन् । 'बुढीको अनुहार दुई वर्षदेखि देख्न पाएको थिइनँ । अहिले दुवै आँखाले देख्न पाएँदा निकै खुसी लागेको छ,' उनले हाँस्दै भने । 

आँखाले देख्न सक्ने भएपछि उनी पत्नीका साथमा ठमठम हिँड्दै घरतिर लागे ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully