ट्रमा सेन्टरका लागि अस्पतालले १३ करोड रुपैयाँ लगानी गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ड (मेसु) डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्वास्थ्यमन्त्री डा. गौतमको जागिरको सिलसिला भरतपुर अस्पतालबाटै सुरु भएको थियो ।
What you should know
चितवन — भरतपुर अस्पतालमा स्थापना भएको ट्रमा सेन्टरको स्वास्थ्यमन्त्री डा.सुधा गौतमले आइतबार उद्घाटन गरेकी छन् । अस्पतालले संघीय बजेटबाट नभएर आफैंले गरेको आम्दानी ट्रमा सेन्टर स्थापनामा खर्च गरेको हो ।
ट्रमा सेन्टरका लागि अस्पतालले १३ करोड रुपैयाँ लगानी गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ड (मेसु) डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्वास्थ्यमन्त्री डा. गौतमको जागिरको सिलसिला भरतपुर अस्पतालबाटै सुरु भएको थियो । ‘यो अस्पताल मैले जागिरे जीवन सुरु गरेको अस्पताल हो । यहाँ कार्यरत रहँदा मैले र मेरो श्रीमान्ले यहाँ ट्रमा सेन्टर चाहिन्छ भनेर माग गरेका थियौं । त्यो बेला काठमाडौंमा पनि ट्रमा सेन्टर थिएन । त्यो बेलादेखि माग भएको ट्रमा सेन्टर अहिले बन्यो र मैले नै उद्घाटन गर्ने अवसर पाएँ,’ उनले भनिन् ।
दुर्घटनालगायतका चोटपटकको उपचार गर्न ट्रमा सेन्टर आवश्यक भएको उनले बताइन् । ‘हामीले त्यो बेलामा पनि यस्तो सेन्टरको माग किन गरेको हो भन्दा चितवन राजमार्गले घेरिएको ठाउँ हो । यहाँ दुर्घटना हुन्छ । त्यसैले ट्रमा सेन्टर चाहिन्छ नि ! त्यो बेला जहाँ पनि बस पल्ट्यो बिरामी यहाँ आउँथे । भूइँभरि सुताएर उपचार गर्यो । कत्ति त बित्थे पनि’ मन्त्री डा.गौतमले भनिन् ।
त्यो बेला दरबारसम्म कुरा पुगे पनि ट्रमा सेन्टर नबनेको उनले बताइन् । डा.गौतम २०४० सालमा भरतपुर अस्पतालमा मेडिकल अफिसरका रुपमा कार्यरत थिइन् । भरतपुर अस्पतालका मेसु डा.पौडेलले तीन चार महिनाभित्रै ५० शय्यामा सञ्चालन हुने ट्रमा सेन्टर हाल १५ शय्याबाट सुरु भएको जानकारी दिए । दुईवटा व्यवस्थित शल्यक्रिया कक्ष (ओटी) समेत त्यहाँ छ ।
‘दुर्घटनामा परेका बिरामीलाई पनि अन्य बिरामीसँग मिसमास गरेर आकस्मिक कक्षमा राखेर उपचार गर्नेक्रम अब हट्ने छ । दुर्घटनाका घाइतेलाई राम्रो व्यवस्थापन गरी उपचार सुरु गरिन्छ । उपचार छिटो हुने हुँदा घाइते मृत्यु हुने दर पक्कै कम हुन्छ,’ डा.पौडेलले भने ।
ट्रमा सेन्टरमा ओटीसहित एक्सरे कक्ष र चिकित्सक पनि रहने उनले बताए । आवश्यक पर्दा झट्टै सर्जरी सुरु गर्न सम्भव हुने उनले बताए । ‘दुर्घटनाका घाइतेहरु दिनमा कम्तीमा ६ जना जति आउँछन् । छुट्टै ट्रमा सेन्टर तयार भएपछि यो संख्या अझै बढ्ने छ,’ मेसु डा.पौडेलले भने ।
उनले ट्रमा सेन्टरको भवनका लागि ११ करोड रुपैयाँ खर्च गरेको बताए । त्यसैगरी डेढ करोड रुपैयाँको उपकरणहरु आएको र थप एक करोड रुपैयाँका सामानहरु आउने क्रममा रहेको उनले बताए । उनले काठमाडौंपछिको दोस्रो ट्रमा सेन्टर यही भएको बताए । ‘यो स्वास्थ्य मन्त्रालयको बजेटमा परेर स्थापना भएको ट्रमा सेन्टर होइन । अस्पताल विकास समितिले आफ्नै कोषबाट खर्च गर्ने गरी भरतपुर अस्पतालमा हामीले ट्रमा सेन्टर बनाउने निधो गरेको हो । यो हाम्रो पहिलो ठुलो प्रोजेक्ट हो,’ मेसु पौडेलले भने ।
दुर्घटनामा परेको बिरामीलाई अरुसँग नराखी विशेष ख्याल दिँदै अप्रेसनदेखि पोष्ट अप्रेसनको लेबलसम्म पुर्याउनका लागि अब सहज हुने उनले बताए ।
