चीन जोड्ने सडक भासिँदा बस्ती जोखिममा परेको भन्दै सीमावासी आन्दोलित

स्थानीयले इको क्षेत्रमा राजमार्ग अवरुद्ध गरेपछि भन्सार प्रक्रियाका लागि चीनबाट छुटेका दर्जनौँ कन्टेनर लिपिङमा रोकिएका छन्।

मंसिर २०, २०८२

अनिश तिवारी

Border residents protest, saying settlements are at risk as road connecting to China collapses

What you should know

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी खण्डमा लगातारको बाढी–पहिरोले सडक र बस्तीमा जोखिम बढे पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीय सीमावासी शनिबारदेखि आन्दोलित भएका छन्।

पछिल्ला महिनामा बाढी–पहिरोका कारण सडकका विभिन्न भाग भास्सिएर चौडाइ साँघुरिँदै गएको अवस्थाबारे पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले स्थानीय पीडितले इको क्षेत्रमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गर्दै आन्दोलन सुरु गरेका हुन्। कोदारी खण्ड क्रमशः भासिन थालेसँगै चौकि डाँडा, मिलन बजार, लालवीर चोक, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार र तामाङ गुम्बालगायत क्षेत्रका करिब ७० घरधुरी उच्च जोखिममा छन् ।

'सडकको दुरावस्था वर्षौँदेखि उस्तै छ। माथिल्लो भाग भासिँदा गाउँ नै जोखिममा परेको छ। डर र त्रासमा बाँच्नुपरेको छ,' स्थानीय सेते शेर्पाले भने।

अविरल वर्षासँगै २६ किलोमिटर लामो कोदारी राजमार्गका विभिन्न स्थानमा सडक भास्सिँदा बर्खाभर आवतजावत जोखिमपूर्ण बनेको थियो। हाल स्थानीयले इको क्षेत्रमा राजमार्ग अवरुद्ध गरेपछि भन्सार प्रक्रियाका लागि चीनबाट छुटेका दर्जनौँ कन्टेनर लिपिङमा रोकिएका छन्।

पीडितहरूले भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय कोदारी, सशस्त्र सुरक्षा बेस, भन्सार सुरक्षा तथा सहायक जिल्ला प्रशासन कार्यालय चरिकोटलगायत निकायलाई बुझाएको पत्रमा राजमार्ग साँघुरिँदै जानु, बस्ती उच्च जोखिममा पर्ने अवस्था र पहिरो रोकथाममा सरकारी उदासीनता मुख्य समस्या रहेको उल्लेख छ। जोखिम मूल्यांकनका लागि प्राविधिक टोली आए पनि उपाय कार्यान्वयनमा कुनै प्रगति नभएकाले गाउँ पूर्ण जोखिममा परेको स्थानीयको भनाइ छ।

वर्षायाम सकिए पनि समस्या समाधानतर्फ प्रत्यक्ष पहल नदेखिएपछि सङ्गठनबद्ध हुन बाध्य भएको पीडित समितिको दाबी छ।पीडित समितिले तत्काल जोखिम क्षेत्रमा सुरक्षा व्यवस्था, पहिरो नियन्त्रणका उपाय, राजमार्ग र बस्तीको संरक्षणका लागि समन्वय तथा सम्बन्धित निकायले विगतमा गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्न माग गरेको छ।

अर्बौँ लागतमा मर्मत तथा कालोपत्र गरिएको बसेरी–लिपिङ सडक पुरानै जस्तो अवस्थामा फर्किएपछि स्थानीय तथा यात्रु निराश बनेका छन्।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully