करिब ३ सय ५० वर्ष अघिदेखि उक्त मेला चल्दै आएको छ ।
What you should know
हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका-३ मा इन्द्रायणी माईको मेला बिहीबारदेखि सुरु भएको छ । तीन/तीन वर्षमा लाग्ने इन्द्रायणी माईको मेला तीन दिन संचालन हुन्छ ।
मंसिर पुर्णिमाको दिनदेखि उक्त मेला इन्द्रायणी माईको चौरमा लाग्ने गर्छ । दामन पालुङको मध्यभागमा पर्ने इन्द्रायणी माईको चौरमा हुने उक्त मेलाको पहिलो दिन गणेश, कुमारी, इन्द्रणी, कालभैरवसमेत गरी पाँच वटा रथ पालुङ,शिखरकोटका नेवार र देउला समुदाय बाजागाजासहित बोकेर लाने गर्छन् । विगतमा रथ पुरुषहरूले मात्र बोक्ने गर्थे । केही वर्षदेखि कुमारीको रथ महिलाहरूले पनि बोकेर इन्द्रायणी माईको चौरमा पुर्याउने गर्छन् ।
दोस्रो दिन पालुङ उपत्यकालगायत उक्त क्षेत्रका बासिन्दाले बोका, राँगा, कुखुराको भाले गरी करिब दुई हजारभन्दा बढी चौपाया र पशुपन्छीको बली दिने प्रचलन रहेको छ । तेस्रो दिन रथ फर्काएसँगै मेला सकिन्छ । इन्द्रायणी माई मन्दिरको पुजारी देउला हुन्छन् । रोजगारी र बसाइ सरेर अन्यत्र गएका विशेषगरी पालुङका देउला र नेवार समुदाय इन्द्रायणी माईको मेलामा गाउँ फर्कने गर्छन् ।
यो मेला मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक मेला हो । ईन्द्रायणी माईको मूर्ति करिब ५ दशकअघि चोरी भएको थियो । त्यो अहिलेसम्म फेला परेको छैन । ऐतिहासिक मूर्ति चोरी भएपछि अर्को मूर्ति ल्याएर राखेर पूजाआज गर्ने गरेको स्थानीय बासिन्दा श्यामभक्त श्रेष्ठले बताए ।
करिब ३ सय ५० वर्ष अघिदेखि उक्त मेला चल्दै आएको छ । थाहा नगरपालिकाले मेलाको दोस्रो दिन अर्थात शुक्रबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।
