थाहा नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

तीनदिने इन्द्रायणी जात्राको दोस्रो दिन नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

मंसिर १८, २०८२

प्रताप विष्ट

Friday is a public holiday in Thaha Municipality.

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकाले तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिकाको ३० कात्तिकमा भएको बैठकले तीनदिने जात्राको दोस्रो दिन नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले बताए । बिहीबार उधौली पर्वमा संघीय सरकारले सार्वजनिक बिदा दिएको छ भने २० गते शनिबार परेको छ । यसरी थाहावासीले तीनै दिन बिदा मनाउन पाउनेछन् ।

करिब ३ सय ५० वर्षदेखि थाहा नगरपालिकाको इन्द्रायणी चौरमा मेला लाग्दै आएको छ । साबिकको दामन र पालुङ गाविसमा लाग्ने मेलामध्ये यो सबैभन्दा पुरानो र ऐतिहासिक मेला हो । सांस्कृतिक रुपले नेवार र देउला समुदायसँग प्रत्यक्ष जोडिएको इन्द्रायणी जात्राको लागि पूजाविधि अनुसारको तयारी पूरा भएको इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले जानकारी दिए । 

जात्राका लागि पालुङ देउला गाउँ (इन्द्रायणी बस्ती) बाट खाली रथ पालुङ ल्याइएको छ । तीनवर्षे जात्रा तान्त्रिक विधिविधान अनुसार मनाइन्छ । जात्रा सुरु हुने चार दिनअघि अर्थात् मंसिर शुक्ल द्वादशीका दिन खाली रथ देउला टोलावाट नेवार बस्ती पालुङमा ल्याउने गरिन्छ  । यसरी रथ ल्याउँदा पालुङबाट नेवार समुदायकै व्यक्ति गएर बोकेर ल्याउने चलन छ ।

जात्राका अवसरमा इन्द्रायणी, कुमारी, कालाभैरव र गणेशको रथारोहण गरिन्छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully