कन्टेनरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

चितवनबाट हेटौंडातर्फ जाँदै गरेका दुई मोटरसाइकल कन्टेनरमा ठोक्किँदा चालकको मृत्यु र पछाडि सवार व्यक्ति घाइते भएका छन्, प्रहरीका अनुसार अनुसन्धान जारी छ।

मंसिर १७, २०८२

प्रताप विष्ट

Driver dies after motorcycle crashes into container

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिएको कन्टेनरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन्।

मंगलबार राति ११ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३५८७ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकलले सडकमा बिग्रेर रोकिएको कन्टेनरमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारी र पछाडि सवार लमजुङ जिल्लाको बेसीसहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजङ गुरुङ घाइते भएका थिए।

गम्भीर घाइते चालक बालकृष्ण अधिकारीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार भवरजङ गुरुङ हेटौंडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचाररत छन्।

कन्टेनर चालक पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली रामलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully