आयमूलक कामका लागि बिनाब्याज ऋण दिने बागमती सरकारको तयारी

प्रदेश सरकारमार्फत एक हजार परिवार विपन्नको घर बनाउन लागिएको मुख्यमन्त्री बानियाँले बताएका छन् ।

मंसिर १६, २०८२

प्रताप विष्ट

Bagmati government prepares to provide interest-free loans for income-generating activities

हेटौंडा — बागमती प्रदेश सरकारले आयमूलक र सीपमूलक कामका लागि विपन्न नागरिकलाई बिनाब्याज ऋण दिने कार्यविधि बनाएर प्रक्रिया अघि बढाएको छ ।

मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माविको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसबारे जानकारी गराएका हुन् । ‘मुख्यमन्त्री हुनेबित्तिकै मैले गरिबमुखी, न्यायमुखी, गाउँमुखी, आयमुखी, विकासमुखी र जनमुखी काम गर्ने भनी सपथ खाएको छु,' उनले भने, 'आम नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी, गरिबलाई गरिखाने बनाउने लक्ष्यका साथ प्रदेश सरकारले काम गरिरहेको छ ।'

प्रदेश सरकारमार्फत एक हजार परिवार विपन्नको घर बनाउन लागिएको बताउँदै उनले गरिबलाई छाना, खाना र नाना भन्ने नाराका साथ २ लाख रुपैयाँ बिनाब्याज ऋण दिने तयारी गरिएको समेत जानकारी गराए । 

२०३२ सालमा स्थापना भएको पशुपति माविमा ५७८ जना विद्यार्थी छन् । लोपोन्मुख वनकरियाहरू अध्ययन गर्ने  उक्त विद्यालयमा १५ जना शिक्षक छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully