चितवनमा यौन रोग र एचआईभीको दोहोरो जोखिम बढ्दै

भरतपुर अस्पतालको तथ्यांकअनुसार पछिल्लो १० महिनामा ३५ जना एड्स संक्रमितमा यौन रोग भेटिएको छ भने सात जनामा क्षयरोग समेत देखिएको छ ।

मंसिर १५, २०८२

रासस

Dual risk of sexually transmitted diseases and HIV increasing in Chitwan

What you should know

चितवन — जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमा यौन रोग पनि बढ्दो क्रममा देखिएको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको हो ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उनका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो । 

अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । ९३ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३ जना एड्स सङ्क्रमित रहेका छन् । जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् । 

विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिए । दुई सय ८५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा एड्स सङ्क्रमित भेटिएको उनले बताए । उनका अनुसार यस अवधिमा भरतपुर अस्पतलाको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ सङ्क्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीसमेत यहाँबाट सेवा लिने गरेको उनले बताए ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । २८ जनाले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए । यहाँ रहेका सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको उनले बताए ।

एड्स रोग लागेका सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको उनले बताउनुभयो । सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूलेसमेत गाह्रो मान्ने गरेका उनको भनाइ छ ।

रासस

Link copied successfully