मकवानपुरमा बस दुर्घटना, ४ जना घाइते

मकवानपुर सहकारी अस्पतालमा घाइतेहरूको उपचार हुँदै

मंसिर १४, २०८२

प्रताप विष्ट

Bus accident in Makawanpur, 4 injured

मकवानपुर — मकवानपुरगढी गाउँपालिका-१, बागधारास्थित कान्ति लोकपथ सडकखण्डमा आइतबार बिहान भएको बस दुर्घटनामा ४ जना घाइते भएका छन्।

मकवानपुरको फापरबारी, बस्तीपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको नालामा कोल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा बसमा सवारमध्ये नाम, थर र वतन खुल्न बाँकी एक महिला र तीन पुरुष गरी ४ जना मध्यम चोटपटकसहित घाइते भएको प्रहरीले जनाएको छ। मकवानपुर सहकारी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

घटनास्थलमा सडक अवरुद्ध भने नभएको र बस यथास्थानमै रहेको प्रहरीले बताएको छ। बकैया गाउँपालिका–१०, अम्बासका बस चालक ३१ वर्षीय गोकुल तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ११ किलोमिटर दक्षिण-पश्चिमतर्फ पर्छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully