मादक पदार्थ सेवन गरेका युवाको समूहले बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
चितवन — माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ परेका छन् ।
बिहीबार राति चार/पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चारजना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
'चिकित्सकहरुले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधै अदालतबाट चल्छ,' प्रहरी निरीक्षक राईले भने ।
बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा धीरञ्जनकुमार साहका अनुसार बिहीबार राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो । युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ । डा साहका अनुसार डा दीपेन्द्र विश्वास, डा देवेन्द विश्वास, हेअ अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउचोट हुने गरी कुटपिट भएको छ । उनीहरुले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उनले जानकारी दिनुभयो ।
नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।
