सात विद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री

‘सहयोगी हातहरू’ नामक संस्थाले बलेफी, भोटेकोसी र बाह्रबिसे क्षेत्रका सात विद्यालयका कुल १ सय १८ विद्यार्थी तथा वृद्ध–वृद्धालाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेको हो।

मंसिर १३, २०८२

अनिश तिवारी

Warm clothes and educational materials for children from seven schools

सिन्धुपाल्चोक — कठ्याङ्ग्रिँदो चिसोका बीच जिल्लाका विभिन्न दुर्गम विद्यालयका बालबालिकालाई ‘सहयोगी हातहरू’ नामक संस्थाले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेका छन्। बलेफी, भोटेकोसी र बाह्रबिसे क्षेत्रका गरी सात विद्यालयका कुल १ सय १८ विद्यार्थी तथा वृद्ध–वृद्धालाई संस्थाले न्यानो लत्ताकपडा प्रदान गरिएको हो।

बलेफी गाउँपालिकास्थित करङगैरा आधारभूत विद्यालयका २७ बालबालिकालाई स्कुल ड्रेस र स्टेशनरी तथा सीमासिंह आधारभूत विद्यालयका २८ जनालाई स्विटर, टोपी र स्टेशनरी वितरण गरिएको छ।

त्यस्तै भोटेकोसी गाउँपालिका–१, च्यामानासा सेबुङस्थित भुमेश्वरी आधारभूत विद्यालयका २५ विद्यार्थीलाई स्कुल ड्रेससहित स्विटर, टोपी र स्टेशनरी सामग्री सहयोग गरिएको छ। उग्रचण्डि माध्यमिक विद्यालय, लिस्तीका ६ विद्यार्थीलाई पनि स्विटर, टोपी र स्टेशनरी उपलब्ध गराइएको छ।

बाह्रबिसे–६ मान्द्रास्थित गोरखनाथ आधारभूत विद्यालयका १२ बालबालिकाले स्कुल ड्रेस र स्टेशनरी पाए भने त्यही क्षेत्रका वृद्ध–वृद्धाले ज्याकेट र न्यानो कपडा पाए। बाह्रबिसे–३ स्थित धार्पा नारायण आधारभूत विद्यालयका ११ तथा बाह्रबिसे–२ दुरुमथलीस्थित मंगलादेवी आधारभूत विद्यालयका ९ बालबालिकालाई पनि स्कुल ड्रेस र स्टेशनरी वितरण गरिएको छ।

‘यसबाहेक आगामी दिनमा थप ७ आधारभूत र माध्यमिक विद्यालयमा यही अभियानलाई निरन्तरता दिई विपन्न बालबालिकाका लागि सहयोग गर्नेछौँ,’ संस्थाका प्रतिनिधि विकेश लामाले भने। ‘सहयोगी हातहरू’ले २०७८ सालदेखि सुरु गरेको अभियानलाई २०८० मा आधिकारिक दर्ता गरी संस्थागत रूपमा सञ्चालनमा ल्याएको हो।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully