बा ४० प ४२९५ नम्बरको मोटरसाइकलमा सवार चालक २१ वर्षीय अभिषेक वाइबासँग सवारी साधनका कागजात नपाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–७ हरियाली नजिकको सडक खण्डमा प्रहरीले एक युवकलाई चोरी गरी बेचिएको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
नियमित जाँचका क्रममा बा ४० प ४२९५ नम्बरको मोटरसाइकलमा सवार चालक २१ वर्षीय अभिषेक वाइबासँग सवारी साधनका कागजात नपाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कागजात नखुलेपछि मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गर्दा उक्त सवारी भोर्ले बस्ने २६ वर्षीय राजेश खातीले बिक्री गरेको खुलेको हो ।
प्रहरीका अनुसार खाती भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका फरार कैदीमध्ये एक हुन् ।
खातीले मोटरसाइकल चोरी गरी वाइबालाई बेचेको प्रहरी अनुसन्धानले देखाएको छ । खातीलाई फेरि पक्राउ परेर केन्द्रीय कारागारमै राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वाइबा र मोटरसाइकलबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
