मोटरसाइकल चालक काठमाडौं बौद्धमा लुकीछिपी बसेको खुलेपछि चितवन प्रहरीले टेकु प्रहरीको सहयोग लिएको थियो।
चितवन — भरतपुरमा मर्निङवाकमा निस्केका व्यक्तिलाई ठक्कर दिएर भागेको मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले घटना भएको ४८ दिनपछि काठमाडौंबाट नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका-४ का ६० वर्षीय कृष्णप्रसाद कँडेललाई मर्निङवाक गर्दै गर्दा भरतपुर चौबीसकोठीनजिक रामपुर जाने सडकमा असोज २१ गते बिहान सवा पाँच बजेतिर ठक्कर दिएको थियो।
ठक्करका कारण गम्भीर घाइते भएका कँडेल हाल पनि उपचारमा छन्। घटनापछि ठक्कर दिने मोटरसाइकल चालक फरार थिए । भागेका चालक खोज्न परिवारका सदस्य तथा आफन्तले प्रशासन समक्ष माग गर्दै आएका थिए।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले विभिन्न खालका अनुसन्धान विधि र ठाउँठाउँका सिसिटिभीका सयौं भिडिओहरू विश्लेषण गरेको बताए। यस क्रममा शंकाको घेरामा दर्जनौं मोटरसाइकल आए पनि दुर्घटना नं ३७ प ८५३० नम्बरको मोटरसाइकलले गराएको आफूहरूले निर्णय गरेको उनले बताए।
उक्त मोटरसाइकल गोरखा नगरपालिका-१३ का २७ वर्षीय सुनिल गुरुङले चलाएको खुल्न आएको खनालले सुनाए। खोज अनुसन्धानमा गुरुङ काठमाडौं बौद्धमा लुकीछिपी बसेको खुलेपछि चितवन प्रहरीले टेकु प्रहरीको सहयोग लिएको थियो।
गुरुङलाई मंसिर ९ गते मंगलबार बौद्धबाट पक्राउ गरेको डीएसपी खनालले बताए। गुरुङलाई सवारी अंगभङ्ग मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप पनि भएको उनले जानकारी दिए।
