ह‍‍ेटौँडामा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काइने

सडक अतिक्रमण गरेर बनेका स्थायी र अस्थायी संरचनाहरू १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिहरूलाई सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते नै सूचना प्रकाशित गरिसकेको छ।

मंसिर ११, २०८२

प्रताप विष्ट

Structures encroaching on roads in Hetauda to be demolished

What you should know

हेटौँडा — हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ। सडक अतिक्रमण गरेर बनेका स्थायी र अस्थायी संरचनाहरू १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिहरूलाई सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सूचना जारी गरेको थियो ।

सडक अतिक्रमण गरी बनेका संरचनाहरू मंसिर १९ गतेसम्म नहटाएमा सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर २० गते बिहानबाट डोजर लगाएर भत्काउने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

मंसिर २० गते बिहानबाट चार क्षेत्रबाट डोजर लगाएर अतिक्रमण गरी बनेका स्थायी र अस्थायी संरचनाहरू हटाइनेछ’ उनले भने । संरचनाहरू हटाउन थालेपछि बजारको मुख्य भागमा सवारी साधन आउजाउ गर्न रोक लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यति वेला सवारी साधनहरू बाइपास रोड भएर आउजाउ गर्ने व्यवस्था मिलाइएको छ’ जिल्ला ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारलाई तीव्रता दिनका लागि ‘टास्क फोर्स’ गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधवार बसेको सरोकारवालाहरूको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको हो । उक्त समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् ।

टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहनेछ भने टोलीले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाहरूको रेखाङ्कन गर्ने, रङ लगाउने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मा पाएको छ । टोलीले बुधवारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोन लगायतका अत्यावश्यक सेवामा अवरोध नआओस् भन्नका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ । प्रजिअ अधिकारीले प्रदेश राजधानी समेत रहेको हेटौँडालाई बस्न योग्य र सुन्दर सहर बनाउन सडक विस्तार अपरिहार्य रहेको बताए ।

उक्त आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) बाट स्रोत सुनिश्चित भइसकेकाले अब यो कार्य कुनै पनि हालतमा नरोकिने उनको दाबी थियो । पटक–पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको हेटौँडाको सडक विस्तार कार्य अहिलेको पटक विगतको जस्तो नहुने दाबी प्रहरी प्रशासनको रहेको छ ।

‘घरधनीहरू स्वयंले संरचना हटाइदिए सडक विस्तार सहज हुनेछ । सबैलाई जितको अनुभूति हुने गरी काम अघि बढाइनेछ’ प्रजिअ अधिकारीले भने । उक्त कार्यका लागि सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रवारै सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन १५ दिनको समय सीमा दिएको थियो ।

सूचना अनुसार रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म तथा बुद्ध चोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँ–बायाँ २५/२५ मिटर भित्र निर्माण भएका स्थायी–अस्थायी घर, टहरा तथा अन्य संरचना हटाउन आग्रह गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully