४३ वर्षपछि मर्मत हुँदै छ हेटौंडाको राप्ती पुल

बाढीको धक्काबाट क्षति पुगेका ४ वटा पिलरको मर्मत बुधबारदेखि सुरु भएको छ ।

मंसिर ११, २०८२

प्रताप विष्ट

Hetauda's Rapti Bridge is being repaired after 43 years

हेटौंडा — पूर्वपश्चिम राजमार्गको हेटौंडास्थित राप्ती खोलामा ४३ वर्षअघि निर्माण गरिएको पुलको पिलर मर्मत कार्य सुरु गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौंडाले चार वटा पिलरमा रेट्रोफिटिङ बुधबारदेखि सुरु गरेको छ । कार्यालयका इन्जिनियर निरज महर्जनले बाढीको धक्काबाट क्षति पुगेका पिलर मर्मत गर्ने बताए ।

रेट्रोफिटिङ र पुल अध्ययनका लागि विशेषज्ञ शिव पौडेलको टोली बुधबार हेटौंडा आएको थियो । उक्त टोलीको अध्ययनपश्चात् काम सुरु गरिसकेको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । वर्षायाममा बाढीको उच्च बहावले पिलरमा जोडसँग धक्का दिने गरेको छ । जसका कारण पिलरको बाहिरी भागको सिमेन्ट बगाएर फलामका रड देखिएका छन् ।

रड देखिएका पिलरमा फर्मा ठोकेर सिमेन्टको ज्याकेटिङ गरेपछि पोल सुरक्षित रहने सूचना अधिकारी यादव सुवेदीले बताए ।

२ सय १० मिटर लम्बाइको पुलका सात वटा पिलर छन् । जसमध्ये चार वटाको रड बाहिर देखिएको छ । ४३ वर्षअघि भारतीय कम्पनीले निर्माण गरेको पुलको हेटौंडातर्फको पहुँचमार्ग २०५९ सालमा बाढीले बगाएको थियो ।निर्माण गरेदेखि पुलको मर्मत कार्य अहिलेसम्म गरिएको छैन । 

पुल हेटौंडा उपमहानगरपालिका-१० र ११ नम्बर वडाको बीचमा छ । पुलमा सातवटा स्पान छन् । उक्त पुल भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आउजाउ गर्छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully