काभ्रेमा घरेलु हिंसा घट्दै, थपिँदै 'डिजिटल' हिंसा

२०७७/७८ यता एक आर्थिक वर्षमा मात्रै घटना बढेको प्रहरी तथ्यांक छ ।

मंसिर ११, २०८२

ज्योती श्रेष्ठ

Domestic violence decreasing in Kavre, 'digital' violence increasing

What you should know

काभ्रे — पछिल्लो समयम काभ्रेमा घरेलु हिंसाका घटनामा कमी आएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको पाँचवर्षे तथ्यांकले यस्तो देखाएको हो ।

२०७७/७८ देखि २०८१/०८२ बीच एक वर्ष २०७८/७९ मा घटना बढे पनि २०८१/८२ मा त्यो संख्या घटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । २०७७/७८ मा कार्यालयमा १७२ दर्ता भएका थिए । १५९ वटा मुद्दा मिलापत्र भएको र बाँकी १३ वटा अदालतमा पठाइएको थियो ।

२०७८/७९ मा २७६ वटा मुद्दा दर्ता भएकामा २६७ वटा प्रहरी कार्यालयमा मिलापत्र र ९ वटा अदालत पठाइएको थियो । यस्तै २०७९/८० मा भने घरेलु हिंसा घटेको देखिन्छ । सो वर्षमा १८६ मुद्दा दर्ता भएकामा सबै प्रहरी कार्यालयबाटै मिलापत्र गराइएको थियो । २०८०/८१ मा पनि दर्ता भएका १८३ वटै मुद्दा  प्रहरी कार्यालयमा मिलापत्रमा टुंगिएका छन् ।

२०८१/८२ मा १४४ मुद्दा दर्ता भएकामा ३ वटा अदालत पठाइएको कार्यालयबाट उपलब्ध विवरणमा उल्लेख छ । 

विभिन्न समयमा सञ्चालन गरिएको सचेतनामूलकको प्रभाव, महिला–पुरुषबीचको समानताको सोच, आर्थिक रुपमा सबल हुनु लगायतका विविध कारण घरेलु हिंसा घट्दै गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

स्थानीय तहमै न्याय निरुपण, स्थानीय स्तरमा गठन गरिएका मेलमिलापकर्तामार्फत नै समस्या निराकरण हुने हुँदा हिंसा घटेको हुन सक्ने मानव अधिकारमकर्मी कृष्ण प्यारी नकर्मीको भनाइ छ । 

प्रविधिमार्फत हिंसाका घटना बढ्दै 

घरेलु हिंसाका घटनामा कमी देखिए पनि प्रविधिको प्रयोग (सामाजिक सञ्जालमार्फत) बाट हुने घटना भने बढेको देखिन्छ । सूचना अधिकारी रविन विष्टका अनुसार सामाजिक सञ्जालमार्फत हिंसाका घटना दर्ता भएका छन् ।

२०८१/८२ मा सामाजिक सञ्जालको प्रयोगबाट २२ महिला र ३७ जना पुरुष गरी ५९ जना पीडित भएको कार्यालयको विवरणमा उल्लेख छ । २०८२/८३ को साउनदेखि कात्तिकसम्म १९  महिला र ३० जना पुरुष गरी ४९ जना पीडित छन् ।

सामाजिक सञ्जालमार्फत हुने हिंसामा सबैभन्दा बढी ई–सेवा एपमार्फत भएको प्रहरीको भनाइ छ । २०८१/८२ मा ई–सेवाअर्न्तगत ३४ वटा, फेसबुक/मेसेन्जरमार्फत १२ वटा , टिकटकमार्फत ७ र इन्स्टाग्राममार्फत एउटा मुद्दा दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै गएको ४ महिनामा ई–सेवाअर्न्तगत ३७ वटा मुद्दा दर्ता भएका छन् भने १२ वटा फेसबुक/मेसेन्जरअर्न्तगतका मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ ।

साइबर बुलिङ, डिजिटल आर्थिक हिंसा, ट्रोल, चरित्र हत्या, यौनजन्य हिंसा लगायतका घटना हुने गरेको प्रहरी प्रमुख शाहले बताए ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully