फरार रहेका १४५ जनामध्ये २६ जना भारतीय नागरिक हुन्।
What you should know
हेटौंडा — जेन–जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये बुधवार अपरान्हसम्म १४५ जना कैदीबन्दी अझै फरार छन्। फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् । भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट २ सय ९५ जनालाई पक्राउ गरेको छ ।
१४५ जना अझै फरार छन् । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आए, अझै २६ जना फरार छन् भनी जेलर सुवास पौडेलले बताए । भीमफेदी कारागारको ‘क’ र ‘ख’ ब्लकको पर्खाल भत्काएर गत भदौ २४ गते राति साढे १२ बजे ४४० जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये २ सय ९५ जना पक्राउ परेका छन् ।
‘२६ जना भारतीय नागरिकसहित १४५ जना अझै फरार छन्’ भीमफेदी कारागारका जेलर पौडेलले भने, ‘जेल फोडेर भागेकाहरूको खोजी गरिरहेका छौं ।’ भीमफेदी कारागारका तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।
कारागारबाट भागेका १४५ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुष्कर बोगटीले बताए । भीमफेदी कारागारबाट अहिलेसम्म फरार भएका कैदीबन्दीहरूमध्ये सबैभन्दा धेरै लागूऔषध र जबरजस्तीकरणी मुद्दाका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँ लगायत जेलबाट भागेकाहरूलाई मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पनि भीमफेदी कारागारमै राखिएको छ । अहिले भीमफेदी कारागारमा ९ सय ५२ जना कैदीबन्दी छन् । जेल फोडेर भाग्नुअघि भीमफेदी जेलमा १ हजार ६६ जना कैदीबन्दी थिए ।
बालसुधार गृहबाट ८ बालक अझै फरार
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट भदौ २५ गते बिहान ७२ जना बालक भागेका थिए । तीमध्ये प्रहरीले ६४ जना नियन्त्रणमा लिएको छ भने ८ जना अझै फरार रहेको सुधारगृहका प्रमुख प्रदीप गौतमले भने, ‘उनीहरू घरमा पनि पुगेका छैनन्, सम्पर्कमा पनि छैनन् ।’ हालसम्म फरार रहेकामध्ये लागूऔषध र जबरजस्तीकरणी मुद्दाका छन् । बालसुधार गृहमा ९४ जना विजयी भएका बालक रहेका थिए ।
