बुधबार बिहान ८ बजेका लागि बोलाइएको कार्यपालिका बैठकमा कांग्रेसका नौजना वडा अध्यक्षसहित उपमेयर राजेशकुमार बानियाँ र समाजवादीबाट निर्वाचित एकजना वडाध्यक्ष सहभागी नभएपछि बैठक सुरु नै नभई स्थगित गरिएको हो ।
What you should know
मकवानपुर — कांग्रेस र एकीकृत समाजवादीको तर्फबाट हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।
बुधबार बिहान ८ बजेका लागि बोलाइएको कार्यपालिका बैठकमा कांग्रेसका नौजना वडा अध्यक्षसहित उपमेयर राजेशकुमार बानियाँ र समाजवादीबाट निर्वाचित एकजना वडाध्यक्ष सहभागी नभएपछि बैठक सुरु नै नभई स्थगित गरिएको हो ।
अघिल्लो कार्यपालिका बैठकमा मेयर मीनाकुमारी लामाले कांग्रेस निकट वडाध्यक्षहरुलाई आफ्नो धारणा राख्ने समय नदिएपछि बैठकमा सहभागी नभएको उनीहरुले बताएका छन् । ‘आफ्नो धारणा राख्नै नपाउने भएपछि बैठकमा किन सहभागी हुनु भनेर हामी गएनौं’, कांग्रेसबाट निर्वाचिन एक वडाध्यक्षले भने ।
उनका अनुसार एमालेबाट निर्वाचित केही वडाध्यक्षहरु बैठकका लागि हेटौंडा उपमहानगरपालिकामा उपस्थित भए पनि बैठक नबसेपछि फर्किएका थिए ।
हेटौंडा उपमहानगरको कार्यपालिका २९ सदस्यीय रहेको छ । बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
हेटौंडा उपमहानगरका प्रवक्ता एवम् कांग्रेसको तर्फबाट वडा नम्बर १ मा निर्वाचित वडाध्यक्ष सविन न्यौपानेका अनुसार अघिल्लो बैठकको एजेन्डामाथि छलफलको क्रममा मेयर लामाले वडाध्यक्षहरुलाई बोल्ने समय नदिएपछि विवाद सिर्जना भएको हो । ‘अघिल्लो बैठकमा एजेन्डामाथि छलफल गर्दा हामीले आफ्नो धारणा राख्न फ्लोर मागेका थियौं । तर, पाएनौं । त्यसकारण यस वैठकमा हामी गएनौं’, उनले भने ।
मेयर लामाले बिहीबार बिहान ८ बजे कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र उपमेयरसँग समस्या समाधान गर्न आन्तरिक गृहकार्य गरिरहेको सचिवालय स्रोतले जनाएको छ । ‘भोलि बिहान छलफल गर्ने र सहमतिपश्चात् कार्यपालिका बस्ने तयारी भइरहेको छ’, सचिवालय स्रोतले भन्यो ।
