बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण

जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले ठूलो बकैया गाउँपालिकाको केन्द्र रहेको हात्तीसुँडेमा चार तले ३२ कोठे भवन निर्माण गरिएको हो  ।

मंसिर ८, २०८२

प्रताप विष्ट

Construction of administrative building of Bakaiya Rural Municipality

What you should know

हेटौंडा — एउटै छानाबाट पालिकाको सेवाहरु उपलब्ध गराउने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा रहेको एक गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सकेको छ । उक्त भवनको बुधबार उद्घाटन कार्यक्रम रहेको छ ।

जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले ठूलो बकैया गाउँपालिकाको केन्द्र रहेको हात्तीसुँडेमा चार तले ३२  कोठे भवन निर्माण गरिएको छ । २०७९ असारदेखि  निर्माण कार्य सुरु गरिएको थियो । पछिल्लो पटकको म्याद थप अनुसार  ०८२ भदौ  मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने थियो । उक्त समयमै निर्माण कार्यसकेर पालिकालाई भवन हस्तान्तरण गरिसकेको छ । तर ‘उद्घाटन गर्न बाँकी थियो बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने‘बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।’

आर्शिवाद सञ्जय सुवानी जेभी निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको थियो । करिब १२ कट्ठा जमिनमा ७ करोड ९५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो  । उक्त भवनमा पालिकाको कार्यालय र शाखाहरु सबै एउटै छानामुनि रहने छन्,' पालिकाका अध्यक्ष लामिछानेले भने,‘यो पालिकाको ‘सिंहदरबार’नै हो ।’

बकैया गाउँपालिकाको कार्यालय अहिले हात्तीसुँडेमा नै छ । एक नाले भवनबाट पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ । मकवानपुरका १० वटा पालिकामध्ये मनहरी र इन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । 

बकैया भीमफेदी, कैलाश, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाले भवन निर्माण गरिसकेका छन् । जिल्लाको सुदूर पूर्वमा पर्ने बागमती गाउँपालिकाले चालु आवमा पालिकाको  कार्यालयका लागि पक्की भवन निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ । बागमती गाउँपालिकाले झुरझुरेमा कच्ची भवन बनाएर पालिकाका बासिन्दालाई सेवा प्रदान गरिरहेको छ । 

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाका आफ्नै पक्की र सुविधायुक्त भवन छन्  । जेन–जी आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रशासनिक भवनमा आगजनी र तोडफोड गरिएको थियो । अहिले भवनको मर्मत सम्भार गर्ने कार्य भइरहेको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully