पाठेघर तथा स्तन क्यान्सर र पोस्टेडसँग सम्बन्धित रोगका बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।
What you should know
हेटौंडा — क्यान्सरका बिरामी खोज्दै विशेषज्ञ चिकित्सकको टोली मकवानपुरका दुर्गम गाउँमा आइपुगेको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भरलाइन अस्पतालका एक दर्जन विशेषज्ञ चिकित्सकको टोलीले मकवानपुरगढी गाउँपालिका–४ स्थित रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाइ भवनमा क्यान्सर रोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण गर्न आएका हुन् ।
पाठेघर तथा स्तन क्यान्सर र पोस्टेडसँग सम्बन्धित रोगका बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।
चार जनालाई पाठेघरको क्यान्सर देखिएको कार्यक्रम संयोजकसमेत रहेकी स्थानीय आयोजक जागरण बचत तथा ऋण सहकारी संस्थाकी मेनुका दाहालले जानकारी दिइन् । पाठेघरसँग सम्बन्धित क्यान्सरको जाँच १ सय ६० जनाले गराएका थिए । पाठेघरमा क्यान्सरका संक्रमण देखिएकाहरूलाई तत्काल उपचार गराउन चिकित्सकको टोलीले सुझाएको छ ।
७० जनाले पोस्टेड रोगको जाँच गराए भने ९७ जनाले भिडियो एक्सरेको सेवा पनि लिए । गाउँका ३ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । गाउँमै पुगेर क्यान्सरका बिरामी खोज्न रोटरी क्लब मकवानपुर, हेटौंडा र याला रोटरी काठमाडौंले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको थियो ।
क्यान्सरजस्तो जटिल रोगको संक्रमण खोज्न गाउँसम्मै चिकित्सकको टोली आउँदा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रम संयोजक दाहालले बताइन् । स्थानीयले पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्सरेलगायतका स्वास्थ्य सेवा पनि पाएका थिए ।
अघिल्ला वर्षमा सहकारीले आफ्ना सेयर सदस्यलाई मात्र स्वास्थ्य सेवा प्रदान गर्दै आएकामा यस वर्षदेखि पालिकाभरका सबै नागरिकलाई लक्षित गरी स्वास्थ्य जाँचको अवसर प्रदान गरिएको दाहालले जानकारी दिइन् । सहकारीले हरेक तीन/तीन वर्षमा क्यान्सर परीक्षण शिविरको आयोजना गर्दै आएको छ ।
