एकल वृद्धा चेपाङको घर जल्यो

राक्सिराङ गाउँपालिका–७ घ्यारीटोलीकी ७० वर्षिया आइतीमाया चेपाङको घर जल्दा नगद ७० हजार रुपैयाँसहित करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको हो।

मंसिर ६, २०८२

प्रताप विष्ट

Single elderly woman's house burned down in Chepang

हेटौंडा — मकवानपुरको दुर्गम गाउँकी एकल महिलाको घर जलेर विचल्लीमा परेकी छन् । राक्सिराङ गाउँपालिका–७ घ्यारीटोलीकी ७० वर्षिया आइतीमाया चेपाङको घर जल्दा नगद ७० हजार रुपैयाँसहित करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको हो।

आइतीमाया घरको आँगन वरिपरि काम गरिरहेको अवस्थामा एक्कासी सोलारको तारमा आगो बलेर घर जलेको थियो । ढुंगा–माटोको गारो लगाइएको र खरको छानाले ढाकिएको घरमा आगलागी भएर उनका लत्ता–कपडा, भाँडाकुडा, ५ मुरी मकै, कोदो, सुनको एक थान तिलहरी र ७० हजार रुपैयाँ नगदसहित करिब ४ लाखभन्दा बढीको मालसामान जलेर खरानी भएको स्थानीय वीरबहादुर चेपाङले बताए ।

'वृद्धभत्ताको पैसा र कुखुरा–बाख्रा बेचेको रकम जोगाएर उनले राखेकी थिइन्, त्यो नै जल्यो,' उनले भने । ५ छोरा–छोरीकी आमा विगत ५ वर्षदेखि एक्लै बस्दै आएकी थिइन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully