चितवनमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

प्रहरीका अनुसार बसले ठक्कर दिँदा पैदलयात्री माडी-१ सेरूवाका अन्दाजी ६० वर्षीय फिरल महतोको ज्यान गएको हो।

मंसिर ६, २०८२

रमेशकुमार पौडेल

Pedestrian dies after being hit by bus in Chitwan

चितवन — चितवनको माडीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझपख भएको उक्त घटनामा अन्य दुई जना सामान्य घाइते छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पैदलयात्रुलाई ठक्कर दिएर बस अनियन्त्रित भइ सडक तल खेतमा खसेको थियो ।

चितवनको दक्षिणी भेग माडी नगरपालिका-१ गर्दीमा भएको उक्त घटनामा ज्यान गुमाउनेमा माडी-१ सेरूवाका ६०/६२ वर्षका फिरल महतो रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

शुक्रबार साँझ पौने ६ बजे तिर बा प्र ०३-००१ ख २८८७ नम्बरको बसले फिरललाई ठक्कर दियो । उनको घटनास्थलमै निधन भएको हो । बस सडकबाट पल्टेर खेतमा पुग्दा बसमा रहेका माडी-२ चिरौलीका पाँच वर्षीय देवांस महतो र भरतपुर महानगरपालिका-२७ बस्ने ३० वर्षकी सुनिता महतो घाइते भएका छन् । देवांसको बायाँ खुट्टामा चोट लागेको छ ।

सुनिताको दाहिने आँखामा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully