बाढी–पहिरोले राजमार्गका पुलहरू बगाएर लैजाने गरेकाले तत्कालै राजमार्ग सञ्चालनमा ल्याउनका लागि भारत सरकारले ‘बेलिब्रिज’ उपलब्ध गराएको हो ।
हेटौंडा — भारत सरकारले नेपाल सरकारलाई १० वटा ‘बेलिब्रिज’ उपलब्ध गराएको छ । बाढी–पहिरोले राजमार्गका पुलहरू बगाएर लैजाने गरेकाले तत्कालै राजमार्ग सञ्चालनमा ल्याउनका लागि भारत सरकारले ‘बेलिब्रिज’ उपलब्ध गराएको हो ।
हेटौंडास्थित सडक डिभिजन कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधा मन्त्री कुलमान घिसिङलाई एउटा ‘बेलिब्रिज’को भाग हस्तान्तरण गरेका थिए ।
भौतिक पूर्वाधारमन्त्री घिसिङले भारत सरकारले गत वर्ष १० वटा ‘बेलिब्रिज’ सहयोग गरेकाले बाढी-पहिरोले पुल बगाएको स्थानमा ‘बेलिब्रिज’हरू राखेर राजमार्गहरू तत्कालै सञ्चालनमा ल्याउन सफल भएको बताए । नेपाल सरकारको अनुरोधमा भारत सरकारले ७० मिटरभन्दा बढी लम्बाइ भएका १० वटा ‘बेलिब्रिज’ सहयोग गरेको जानकारी गराए ।
हेटौंडास्थित सडक विभागमा ५ वटा र इटहरीमा ५ वटा पुल स्टक राखिने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतका ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल–भारत छिमेकी मात्र होइन, एकअर्काका सहयोगी–मित्र भएको बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माले भारतले नेपाललाई पुल मात्र होइन, प्राविधिक पनि सहयोग गरेको जानकारी गराए । उक्त पुल जडान गर्न भारतीय प्राविधिक नै आउने उनले बताए ।
