सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापा शनिबार बिहान ११ बजे स्कटल्याण्डका लिओ नेतृत्वमा नर्वेका हेनरिक बर्गसेनसहितको टोलीले ६,१५१ मिटर उचाइको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) सफलतापूर्वक आरोहण गरेको हो ।
What you should know
सिन्धुपाल्चोक — स्कटल्याण्डका विख्यात पर्वतारोही तथा लेखक लिओ हाउल्डिङको नेतृत्वमा दुई पर्वतारोहीले जिल्लाको जुगल गाउँपालिका शिरस्थित जुगल हिमशृंखलाको ११ चुचुरामध्ये एक चुचुरो ग्याल्जेन पिक सफलतापूर्वक आरोहण गरेका छन् ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापा शनिबार बिहान ११ बजे स्कटल्याण्डका लिओ नेतृत्वमा नर्वेका हेनरिक बर्गसेनसहितको टोलीले ६,१५१ मिटर उचाइको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) सफलतापूर्वक आरोहण गरेको हो ।
उनका अनुसार जुगल–४ चुचुरो आरोहणमा बारम्बार प्रयास विफल भएपछि टोलीले वैकल्पिक रूपमा सो पिक आरोहण गर्ने निर्णय लिएको थियो । ‘आरोहण टोलीले स्याटेलाइटमार्फत् चुचुरो स्पर्श गरिएको जानकारी दिएका छन्,’ उनले भने ।
जुगल हिमशृंखलामा ११ वटा प्रमुख चुचुरा छन् । तीमध्ये जुगल–४ र जुगल–५ आरोहण गर्ने उद्देश्यका साथ सात अन्तर्राष्ट्रिय पर्वतारोही हाल क्षेत्रमै पुगेका थिए । थापाको पहलमा आएको टोलीले क्रमशः ५,९३६ मिटर उचाइको जुगल–४ र ५,९२२ मिटर उचाइको जुगल–५ आरोहण गर्ने लक्ष्य बनाएको थियो ।
यसअघि आइतबार बिहान यूकेका जेम्स पिटर विलियम्स पेरियरसहित पाँच सदस्यीय टोलीले ५,९२२ मिटर उचाइको जुगल–५ हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार गाउँपालिकाले आरोहण टोलीलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको छ ।
तामाङ स्वयं पनि आरोहण टोलीसँग सहभागी भएका थिए । लगातारका सफलताले जुगल क्षेत्रलाई साहसिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै लैजाने स्थानीयको विश्वास छ ।
