एक वर्षको अवधिमा २ हजार ८ सयदेखि १४ हजार लिटरसम्म दूध बिक्री गरेका किसान सम्मानित भएका हुन् ।
What you should know
काभ्रे — काभ्रेको बेथानचोक–१ स्थित मदानी डेरी प्रालिले आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट ३८ जना दूध उत्पादक किसानलाई सम्मान गरेको छ ।
डेरीमा निरन्तर रूपमा दूध आपूर्ति गर्दै सर्वाधिक बिक्री गर्ने किसानलाई दूध संकलनका लागि प्रयोग हुने बाल्टीनसहित सम्मान गरिएको हाे । सम्मानित किसानहरूले एक वर्षको अवधिमा २ हजार ८ सय लिटरदेखि १४ हजार लिटरसम्म दूध बिक्री गरेका थिए ।
सम्मानित हुने किसान बेथानचोक र खानीखोला गाउँपालिका, साथै ललितपुरको महांकाल गाउँपालिका क्षेत्रका रहेका छन्।
स्थानीयस्तरमा दूध उत्पादन वृद्धि गर्दै किसानलाई व्यावसायिक कृषि पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले डेरीले हरेक वर्ष उत्कृष्ट किसानलाई सम्मान गर्दै आएको मदानी डेरी प्रालिका अध्यक्ष माधव दाहालले जानकारी दिए ।
दूध किसानलाई सम्मान गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले किसानको मिहनेतकाे प्रशंसा गर्दै मदानी डेरीले स्थानीयस्तरमा कृषि उद्यमशीलता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
डेरी व्यवस्थापनले आगामी वर्षमा किसान–मित्र सेवा तथा बजार विस्तारमा अझै ध्यान केन्द्रित गर्न उनले सुझाव दिए ।उनका अनुसार गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकता दिँदै कृषिजन्य उद्योगका लागि सडक पूर्वाधार विकासलगायतका काममा जोड दिएको छ ।
मदानी डेरी प्रालि स्थापना भएको तीन वर्षदेखि किसानसँगको सहकार्य र बजार विस्तारसँगै डेरीको उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउदै गएको अध्यक्ष दाहालले बताए । सुरुका दिनमा स्थानीय किसानबाट ७५० लिटर दूध संकलन गर्दै डेरीले अहिले दैनिक ८ हजार लिटर दूध संकलन गरिरहेको छ ।
डेरीले किसानलाई दूध खरिदसँगै उनीहरूका पशुकाे बिमा सुविधा, गाई–भैंसी किन्न ऋण, प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ।
