टाढाका बस्तीबाट सुत्केरी हुन आउने गर्भवतीलाई खाना, बस्ने सुविधाका लागि स्वास्थ्य चौकीमा छुट्टै भवन निर्माण गरिएको हो ।
What you should know
हेटौंडा — मकवानपुरको दुर्गम गाउँमा रहेको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भवतीका लागि पर्खिने (वेइटिङ) घर निर्माण गरिएको छ ।
टाढाका बस्तीबाट सुत्केरी हुन आउने गर्भवतीलाई खाना, बस्ने सुविधाका लागि स्वास्थ्य चौकीमा छुट्टै भवन निर्माण गरिएको हो ।
कैलाश गाउँपालिका-७ ङिको (हाम्रो) स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको वेइटिङ भवनको गाउँफालिका अध्यक्ष लोकबहादुर मोक्तानले शुत्रबार उद्घाटन गरेका थिए । अध्यक्ष मोक्तानले गर्भवतीको सुत्केरी आमा र नवजात शिशुको सुरक्षाका लागि खाना र बस्ने सुविधासहितको घर निर्माण गरिएको बताए ।
साविकको भार्ता गाविसमा पर्ने (हालको कैलाश गाउँपालिका-७) ताम्लाङमा पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले व्यक्तिगत लगानीमा २०७६ सालमा बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् । उक्त स्वास्थ्य चौकीको नाम पनि चेपाङ भाषामा ‘ङिको’ स्वास्थ्य चौकी राखिएको छ ।
चेपाङ भाषामा ‘ङिको’ को अर्थ हाम्रो हो । बर्थिङ सेन्टर स्थापना भएपछि स्वास्थ्य चौकी आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको स्वास्थ्य चौकी प्रमुख मेनका ठाकुरले बताइन् । ‘ताम्लाङमा बर्थिङ स्थापना नहुँदा अधिकांश गर्भवती धामीझाक्रीकै भरमा घरमा असुरक्षित ढंगले सुत्केरी हुने गरेका थिए । अहिले स्वास्थ्य चौकी आउन थालेका छन्,’ उनले भनिन् ।
बर्थिङ सेन्टरमा यो भवन बनेपछि टाढाका गर्भवतीलाई तोकिएको समय भन्दा केही दिनअघि नै बोलाउन सजिलो हुने उनले बताइन् । सुत्केरी र कुरुवालाई समेत खाने र बस्ने व्यवस्थासहित भवन बनाइएको वडाध्यक्ष उदासकुमार भोलनले बताए ।
चेपाङ समुदायको बाहुल्य रहेको उक्त बस्तीका १४ जनाले गत आर्थिक वर्षमा यो स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएका थिए । यो संख्या गाउँमा गर्भवती हुनेमध्ये करिब ४० प्रतिशतमात्र हो । यहाँका करिब ६० प्रतिशत गर्भवती असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन् । सुत्केरी व्यथा लागेपछि पहिला धामीझाक्री लगाउने, जटिल भएपछि मात्रै स्वास्थ्य चौकी ल्याउने गरेको स्वास्थ्य चौकी प्रमुख ठाकुरले बताइन् ।
बागमती प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत करिब ७ लाख रुपैयाँमा उक्त भवन निर्माण गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले भौगोलिक रुपमा विकट रहेको स्थानमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए ।
चेपाङ समुदायको बाहुल्य रहेको विकट कैलाश गाउँपालिकाका १० वडा मध्ये ६ र १० नम्बर वडामा बर्थिङ सेन्टर छैन । अन्य ८ वटा वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक गौतमले बताए । उनका अनुसार कैलाश गाउँपालिका गत आर्थिक वर्षमा ३ सय ५८ जना गर्भवती हुने अनुमान गरिएको थियो । तीमध्ये १ सय ७१ गर्भवती स्वाथ्य संस्थामा आएर सुत्केरी भएको उनले बताए । गाउँपालिकाले घरमा हुने सुत्केरी शून्यमा झार्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए ।
