अन्धविश्वासले गाँजेपछि ७५ वर्षीय वृद्धले गरे धामीको हत्या

आफ्नो नाति र छिमेकीलाई भेदेर मारेकाले धामीलाई हत्या गरेको उनले प्रहरीसामु बयान दिएका छन् ।

कार्तिक २९, २०८२

प्रताप विष्ट

75-year-old man kills Dhami after being driven by superstition

What you should know

हेटौंडा — आफ्नो नातिसहित गाउँका ४ जनालाई भेदेर मारेको भन्दै ७५ वर्षीय वृद्धले गाउँका एक धामीलाई गोली हानी हत्या गरेका छन् । 

राक्सिराङ गाउँपालिका-१ कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय इमानसिंह थोकरले ६४ वर्षीय धामी ठूले गोलेलाई शुक्रबार गोली हानी हत्या गरेको प्रहरीेले जनाएको छ । उनले छातीमा गोली प्रहार गरेका थिए ।

आफ्नो नाति (कान्छो छोराको ५ वर्षीय छोरा) लाई चार वर्षअघि र छिमेकी तीन जनालाई पनि भेदेर मारेकाले धामीलाई हत्या गरेको उनले बयान दिएका छन् ।

घरबाट पेस्तोल बोकेर ज्वारीकोटको खल्तीमा हाल्दा माइली छोरी अमृताले 'किन पेस्तोल बोकेर हिँडेको' भनेर सोधेकी थिइन् । थोकर केही पनि जवाफ नदिई हिँडेका थिए । 

अन्धविश्वासले हत्या गर्न प्रेरित गरेको प्रहरीको भनाइ छ । अहिले पनि गोली प्रहार गरेर हत्या गरेकामा उनमा खासै पश्चाताप नदेखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी राजु कुर्मीले बताए ।साक्षरता दर अत्यन्त कम रहेको राक्सिराङका अधिकांश बासिन्दा धामीझाँक्रीप्रति विश्वास गर्छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका उनले १८ महिनाअघि ६ हजार ५ सयमा पेस्तोल र ९ सयमा तीनवटा गोली किनेको बताएका छन् ।

८ छोरा र ३ छोरीसहित ११ सन्तानका बाबु उनी हाल घरमा सुस्तमनस्थितिकी छोरीसँग बस्छन् । थोकरकी पत्नीको १७ वर्षअघि नै निधन भएको थियो । छोराहरु सबै अलगअलग छन् । 

'आफ्नो हस्ताक्षरसम्म गर्न सक्ने थोकरलाई गाउँमा बोक्सी, भेदा र भूतप्रेत हुन्छ भन्ने अन्धविश्वासले घेरेको रहेछ । त्यही अन्धविश्वासका कारणले हत्या गरे,' प्रहरी निरीक्षक कुर्मी भन्छन् ।

थोकरलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट कटुवा पेस्तोल एक थान, गोली दुई राउन्ड, खोका १ थान र १९० ग्राम गन पाउडर बरामद भएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully