कांग्रेस बागमती प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा दुई वटा महाधिवेशन मिति सार्वजनिक भएको भन्दै एउटै महाधिवेशन मिति तोक्न आग्रह गरेका छन् ।
What you should know
भक्तपुर — कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३ औं पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा शुक्रबारबाट सुरु भएको छ ।
बैठक उद्घाटन गर्दै कांग्रेस बागमती प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा दुई वटा महाधिवेशन मिति सार्वजनिक भएको भन्दै एउटै महाधिवेशन मिति तोक्न आग्रह गरेका छन् । उनले कांग्रेसको क्रियाशील सदस्यको विवाद टुंग्याएर मात्रै महाधिवेशनको मिति तय गर्नुपर्ने बताए । पार्टीको केन्द्रीय बैठकमा पनि महाधिवेशनको दुईवटा तालिका सार्वजनिक गरेर विवाद सिर्जना गराइएको भन्दै उनले असन्तुष्टि जनाए ।
मुख्यमन्त्री बानियाँले सदस्यता विवाद टुंग्याएर १५ दिनभित्र महाधिवेशन मिति तोक्न केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् । कांग्रेसको महाधिवेशन मितिमा बहुमत र अल्पमतका आधारमा आएमा कांग्रेस, कांग्रेस नरहने भन्दै उनले २०५१ सालको अवस्थामा फर्कने दाबी गरे ।
कार्यक्रममा कांग्रेस भक्तपुर सभापति दूर्लभ थापाले प्रदेश बैठकपछि कांग्रेसलाई एकढिक्का बनाएर लैजाने बताए । उनले कांग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका कांग्रेस सभापतिहरुको भेला पनि आयोजना गर्ने तयारी गरेको जनाए । जनता र पार्टीका कार्यकर्तामा भ्रम फैलाएर पार्टी बलियो नहुने उनको भनाइ थियो ।
सभापति थापाले अस्ट्रेलियामा रहेका कार्यकर्ताको समेत हस्ताक्षर गरेको पाइएको जनाउँदै यस्ता गतिविधिले जिल्ला-जिल्लामा कांग्रेसको एकता भाँडिने बताए ।
कार्यक्रममा संयोजक कृष्णलाल भँडेलले पार्टी एकतालाई खलबल्याउने गरी जान नहुने भन्दै महाधिवेशनमा जानु अगाडि पार्टी भित्रका सबै विवादलाई टुंग्याउनुपर्नेमा जोड दिए ।
बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका १३ सभापतिहरु सहभागी छन् । बैठक शनिबारसम्म चल्ने छ ।
