नख्खु कारागारबाट भागेकासहित ४ जना पक्राउ

चोरी मुद्दामा कैद तोकिएका उनी भदौ २४ गते राति जेल फोडेर भागेका थिए ।

कार्तिक २७, २०८२

प्रताप विष्ट

Four people arrested, including those who escaped from Nakkhu prison

हेटौंडा — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा नख्खु कारागार फोडेर फरार भएका कैदी बिहीबार हेटौँडामा पक्राउ परेका छन् । 

हेटौंडा उपमहानगरपालिका-१३ का विजय श्रेष्ठलाई प्रहरीले घरबाटै पक्राउ गरेर कैद भुक्तानका लागि भीमफेदी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक एवं  प्रवक्ता पुस्कर बोगटीले बताए । चोरी मुद्दामा कैद तोकिएका श्रेष्ठ भदौ २४ गते राति जेल फोडेर भागेका थिए । 

यसैगरी, मकवानपुर प्रहरीले लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी पुर्पक्षका लागि भीमफेदी जेल पठाएको छ । हेटौंडा उपमहानगरपालिका-४ का अनिश तामाङलाई बिहीबार घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थुनामा राख्न कारागार पठाएको हो । 

यस्तै, जिल्ला अदालत मकवानपुरबाट दोषी ठहर फरार अभियुक्तद्वयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लागुऔषध मुद्दाका भीमफेदी गाउँपालिका-८ का भीम स्याङतान र मनहरी गाउँपालिका-९ का सुर्गाबहादुृर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । 

स्याङतानलाई लागु औषध मुद्दामा जिल्ला अदालत मकवानपुरले ९ महिना १३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । यसैगरी मोक्तानलाई एक वर्ष एक महिना ११ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो । दुवैलाई कैद र जरिवाना असुली गर्न जिल्ला अदालत मकवानपुरमा पेस गरेको थियो । अदालतले दुवैलाई भीमफेदी कारागार पठाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully