राक्सिराङमा बन्यो चेपाङ संग्रहालय

चेपाङ बाहुल्य उक्त पालिकाले चेपाङ समुदाय परापूर्वकालदेखि प्रयोग गर्दै आएको तर लोपोन्मुख अवस्थामा रहेका सामग्रीहरू अवलोकनका लागि राख्न चेपाङ संग्रहालय निर्माण गरेको हो।

कार्तिक २७, २०८२

प्रताप विष्ट

Chepang Museum built in Raksirang

What you should know

हेटौँडा — चेपाङ समुदायको पहिचान र संस्कृतिसँग जोडिएका सामानहरू अवलोकन र संरक्षणका लागि राख्न निर्माण गरिएको संग्रहालय हस्तान्तरणको अवस्थामा पुगेको छ। राक्सिराङ गाउँपालिकाले निर्माण गरेको संग्रहालयको निर्माण कार्य सकिएको छ, अब निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गर्न मात्र बाँकी छ।

चेपाङ बाहुल्य उक्त पालिकाले चेपाङ समुदाय परापूर्वकालदेखि प्रयोग गर्दै आएको तर लोपोन्मुख अवस्थामा रहेका सामग्रीहरू अवलोकनका लागि राख्न चेपाङ संग्रहालय निर्माण गरेको हो।

उनीहरूले विगतमा प्रयोग गरेका तर अहिले लोप हुने अवस्थामा पुगेका सामग्रीहरू संरक्षण गर्ने उद्देश्यले पालिकाले ठूलो लगानीमा संग्रहालय निर्माण गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। निर्माण कम्पनीले संग्रहालयको निर्माण कार्य सकिसकेको छ, अब सामान्य कामहरू मात्र बाँकी छन्, उनले भने, ‘अब हस्तान्तरणसहित संग्रहालयको उद्घाटन गरिने छ।’

राक्सिराङ गाउँपालिका–५, चैनपुरमा ३ करोड ६३ लाखको लागतमा संग्रहालय भवनको निर्माण कार्य गरिएको छ। तीन तले उक्त भवनको तल्लो तलामा चेपाङ समुदायले विगतदेखि वर्तमानसम्म प्रयोग गर्दै आएका र उनीहरूको संस्कृति र पहिचान झल्कने सामग्रीहरू राखिने व्यवस्था गरिएको छ।

राक्सिराङ गाउँपालिकाको केन्द्रसमेत रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय सञ्चालनमा थियो। अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिसहरू आउने गर्थे।

२०७२ सालको भूकम्पले संग्रहालय भवनमा क्षति पुर्‍याएको थियो। उक्त भवनको मर्मत र सम्भार कार्य हेटौँडाका दिलीप वानियाको आर्थिक सहयोगमा रोटरी क्लब अफ मकवानपुरले गरेको थियो। भवन जिर्ण हुँदै गएको र ठाउँको अभावले व्यवस्थित रूपमा संग्रहालय सञ्चालन हुन नसकेकाले गाउँपालिकाले व्यवस्थित रूपमा संग्रहालय सञ्चालन गर्न २०७८ साउनदेखि नयाँ भवनको निर्माण कार्य सुरु गरेको हो।

तत्कालीन जिल्ला विकास समितिको सहयोगमा उक्त स्थानमा २०६७ सालदेखि चेपाङ संग्रहालय स्थापना गरिएको थियो। उक्त संग्रहालयमा चेपाङ समुदायले प्रयोग गर्ने एक पाखे ढ्याङ्ग्रो, चमेरो मारेर हाल्ने थुन्से, चमेरो मार्ने गुलेली, खोरिया खन्दा प्रयोग गर्ने कुटो–कोदालो, हलो, वन्यजन्तुको सिकार खेल्दा प्रयोग गर्ने हतियार, चिउरीको घिउ राख्ने भाँडो लगायत उनीहरूको जीवनशैली र पहिचानसँग जोडिएका सामग्रीहरू राखिएका थिए।

संग्रहालयको पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि संग्रहालयमा राखिएका सामग्रीहरू कोठामा सुरक्षित रूपमा राखेका छौं,’ गाउँपालिका अध्यक्ष मल्लले भने, ‘गाउँपालिकाले कार्यविधि बनाएर चेपाङ संग्रहालय व्यवस्थित रूपमा सञ्चालन गर्नेछ।’

मनहरी बजारबाट साढे एक घन्टा हिँडेर चैनपुर पुग्न सकिन्छ। अहिले मनहरीबाट उक्त स्थानसम्म सवारीसाधन आउजाउ गर्छन्। उक्त चेपाङ संग्रहालय चेपाङहरूको अस्तित्व र पहिचानसँग जोडिएकाले चेपाङ संग्रहालय गाउँपालिकाले व्यवस्थित रूपमा सञ्चालन गर्ने विश्वास लिएका छौं,’ नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए।

चेपाङ समुदायको बहुल्यता रहेको राक्सिराङ र कैलाश गाउँपालिकाको मध्यभागमा चेपाङ संग्रहालय रहेको छ। मुलुककै यो पहिलो चेपाङ संग्रहालय हो।

२०७८ सालको जनगणना अनुसार मुलुकमा ८४ हजार ३ सय ६४ जना चेपाङ जनसंख्या रहेको छ। मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जना जनसंख्या रहेको छ। चेपाङहरूको बसोबास अहिले २६ वटा जिल्लामा छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully