हेटौंडाबाट फापरवारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नं.को मोटरसाइकलको ठक्करबाट बकैया गाउँपालिका–३ का ७१ वर्षीय पैदलयात्री खडकबहादुर घलानको मृत्यु भएको हो ।
हेटौंडा — मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुढेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । मोटरसाइकल चालक र मोटरसाइकल पछाडी सवार सामान्य घाइते भएका छन् ।
हेटौंडाबाट फापरवारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नं.को मोटरसाइकलको ठक्करबाट बकैया गाउँपालिका–३ का ७१ वर्षीय पैदलयात्री खडकबहादुर घलानको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका घलानको उपचार गर्ने क्रम हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।
वृद्ध घलान सडक छेउवाट हिँडेर घरतर्फ जाँदै थिए । तीव्र गतिमा आएको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय देवराज विक र मोटरसाइकलमा सवार बागमती गाउँपालिका–६ का २० वर्षीय देवराज धानुक सामान्य घाइते भएका थिए ।
घाइते दुवै जनाको हात्तिसुढेस्थित मेडिकलमा उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । मोटरसाइकल चालक देवराज विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
