'कृषि एम्बुलेन्स' दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

दुर्घटनामा गम्भीर घाइते भएका हपनिका ८० वर्षीय विरबहादुर प्रजा चेपाङको राति साढे नौ बजे निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।

कार्तिक २६, २०८२

रमेशकुमार पौडेल

One dead, two injured in 'agricultural ambulance' accident

What you should know

चितवन — गाउँमा उत्पादन हुने तरकारी–फलफूल बजारमा पुर्‍याएर बेच्न प्रयोग हुने पिकअप गाडी दुर्घटना हुँदा चितवनको पहाडी भेगका एकजनाको मंगलबार राति निधन भएको छ। सो दुर्घटनामा थप दुईजना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था मध्यम र एकजनाको सामान्य रहेको चितवन प्रहरीले जनाएको छ। 

इच्छाकामना गाउँपालिका–२ मा पर्ने पहाडी गाउँ हपनीमा मंगलबार साँझ सवा ६ बजे वागमती प्रदेश ०१–००२ झ ६६६२ नम्बरको पिकअप जीप दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका हपनिका ८० वर्षीय विरबहादुर प्रजा चेपाङको राति साढे नौ बजे निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहलाई ८५ प्रतिशत अनुदानमा कृषि उपज ढुवानी गर्न सो गाडी उपलब्ध गराएको थियो। पहाडी भेगको फलफूल–तरकारी पृथ्वीराजमार्गको फिस्लिङ बजारमा पुर्‍याएर बेच्ने काममा प्रयोग हुने सो गाडीलाई गाउँपालिकाले "कृषि एम्बुलेन्स" नाम दिएको थियो। मंगलबार पनि तरकारी बेचेर फिस्लिङबाट फर्कदै गर्दा पहाडी भेगको ग्रामीण बाटोबाट उक्त गाडी लगभग चार–पाँच सय मिटर तल खोँचमा खसेको प्रहरीले जनाएको छ।

सो गाडीमा रहेका हपनीकै ३८ वर्षीय कर्णबहादुर प्रजा चेपाङ र १९ वर्षका विष्णु प्रजा चेपाङ घाइते भएका छन्। कर्णको अवस्था मध्यम र विष्णुको अवस्था सामान्य रहेको डिएसपी खनालले बताए। दुवै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।

हपनी गाउँ चितवनको आदिवासी समुदाय चेपाङ बहुल पहाडी भेग हो। पछिल्ला वर्षहरूमा तरकारीखेती गरेर यहाँका चेपाङ परिवारले राम्रो आम्दानी गरेका थिए। सुलभ भाडादरमा स्थानीय उत्पादन बजारमा पुर्‍याउन "कृषि एम्बुलेन्स"ले सहयोग गरेको थियो। दुर्घटनाका कारण उक्त गाडी क्षतिग्रस्त भएको छ। गाडीका चालक हपनीकै २५ वर्षीय विकास प्रजा चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully