दुधौली नगरपालिका–११ मा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा ३४ वर्षीय रामकुमार कुमर र २५ वर्षीय फुलबाबु धामीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
सिन्धुली — मदन भण्डारी राजमार्गको दुधौली नगरपालिका–४, लक्ष्मीपुरमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ना. प्र. १–०२–००२ नं को ट्रक र विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल (ना. प्र. २–००१ प ४१४२ र म. प्र. ०२–००६ प ५८४१) एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुधौली नगरपालिका–११, टाँडीका ३४ वर्षीय रामकुमार कुमर र २५ वर्षीय फुलबाबु धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय डकाहा प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन्।
घाइतेहरू विप्लव धामी, बुद्धि थारु, सुनिल माझी र कुशे धामीलाई दुधौली नगर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ। ट्रक चालक धनकुटाका शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा तीन/तीन जना चढेका थिए।
