सकियो रास्वपाको विस्तारित बैठक, चुनाव केन्द्रित विभिन्न निर्णय, समानुपातिकको उम्मेद्वारी आह्वान

विदेशबाट फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व निश्चित गर्ने, २०७९ सालको निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएकाहरु यो पटक बन्दसूचीमा नरहने व्यवस्था पार्टीले गरेको छ ।

कार्तिक २३, २०८२

रमेशकुमार पौडेल

Extended meeting of the Rashtriya Swayamsevak Sangh (RSS) ends, various election-focused decisions taken, calls for candidacies for proportional representation

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन सौराहामा जारी केन्द्रीय समितिको दुई दिने विस्तारित बैठक शनिबार राति सकिएको छ । पार्टीका प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गरेर बैठकले फागुन २१ मा घोषणा भएको चुनावलाई केन्द्रित गरेर विभिन्न निर्णयहरु गरेको जानकारी गराएका छन् । 

राति जारी भएको उक्त विज्ञप्तिमा समानुपातिक प्रणाली तर्फको उम्मेद्वारी आहृवान गरेको उल्लेख छ । समानुपातिक बन्दसूचीमा २५ देखि ४० वर्षका जेन–जी युवाहरुलाई उनीहरुको जनसंख्याका आधारमा २७ प्रतिशत प्रतिनिधित्व निश्चित गर्ने रास्वपाले जनाएको छ ।

त्यसैगरी विदेशबाट फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व निश्चित गर्ने नीति उक्त पार्टीले लिएको छ । २०७९ सालको निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएकाहरु यो पटक बन्दसूचीमा नरहने व्यवस्था पनि पार्टीले गरेको छ । 

बैठकले उम्मेद्वारी दिने योग्यताहरुको मापदण्ड परिमार्जन गरेको छ । जसमा वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, अनलाइनसहित सार्वजनिक रुपमा प्रमाणित हुने घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, अपमान नगरेको हुनुपर्ने लगायत छन् ।

जात र लिंगको आधारमा कसैलाई अपमान नगरेको कमजोर समूहको शोषण नगरेको स्वघोषणा पनि गर्नुपर्ने छ । त्यसैगरी प्रतिनिधि सभा सदस्य हुँदासम्म आफू र आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्ने नियमित आम्दानीको पारदर्शी स्रोतको स्वघोषणा अनिवार्य रुपमा गर्नुपर्ने विस्तारित बैठकले मापदण्डमा थप गरेको छ । 

प्रदेशमा क्लष्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गर्ने पार्टीले जनाएको छ । बैठकले असन्तुष्टिहरु रहे पनि चुनावमा भाग लिन सबै दललाई आहृवान गरेको छ ।

फागुन २१ को निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि दलहरु र अन्य सरोकारवालाहरुसँग घनिभूत रुपमा संवाद गर्न, सुरक्षासहित प्राविधिक बन्दोवस्तीका तयारीमा लाग्नका लागि सरकार थप गम्भीर हुनुपर्ने रास्वपाले आग्रह गरेको छ । विदेशका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न उक्त पार्टीले ध्यानाकर्षण गराएको छ ।

जेन–जी आन्दोलनको क्रममा भएका ‘मानवता विरोधी’ घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न विस्तारित बैठकले माग गरेको छ । सहकारी ठगीमा कारागारमा रहेका पार्टीका केन्द्रीय सभापति रवि लामिछानको विषयमा पनि विस्तारित बैठकले निर्णय गरेको छ । 

रविमाथि राजनैतिक प्रतिशोध भएको भन्ने पूर्ववत: धारणामा अडिग रहँदै उनको मुद्दा छिट्टो निष्कर्षमा पुर्‍याउन बैठकले माग गरेको छ । ‘राजनैतिक प्रतिशोधको उपकरणको रुपमा प्रयोग गरिएको मुद्दाहरुलाई न्यायालयले निष्पक्ष, स्वतन्त्र र द्रूत न्यायिक प्रक्रियामार्फत निष्कर्षमा पुर्‍याउन माग गर्दछौं । त्यस्तो न्यायिक निष्पक्षता र शीघ्र सुनुवाइले मात्र लोकतन्त्र र कानुनी शासनप्रति जनविश्वास पुनः स्थापित गर्न सक्ने छ भन्ने हाम्रो विश्वास छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको महाधिवेशन चुनाव भएको ६ महिनापछि गर्ने निर्णय भएको छ । केन्द्रीय समितिको विस्तारित बैठकमा केन्द्रीय समितिका साथै केन्द्रीय सल्लाहाकार परिषद्का सदस्य, केन्द्रीय आयोगका पदाधीकारीहरु, केन्द्रीय विभागका पदाधिकारीहरु, केन्द्रीय संगठन विभाग, प्रदेश पदाधिकारी र सचिवालय, प्रदेश विभाग प्रमुखहरु सहभागी थिए । बैठक शुक्रबार सुरु भएको थियो ।

त्यसैगरी बैठकमा जिल्ला सभापतिहरु, निर्वाचन क्षेत्र समितिका संयोजक, अधिवेशन भएका पालिकाका प्रमुखहरु र विदेशबाट आएका पार्टीको प्रवास कमिटिका प्रतिनिधि गरी करिब चार सयजना सहभागी भएको पार्टीले जनाएको छ । बैठकमा कार्यवाहक सभापति डीपी अर्यालको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठानिक प्रतिवेदन पेश भएको थियो ।

उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, सह–महामन्त्री विपिन आचार्यले उम्मेदवार छनोटको रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेर कारागार चलान भएपछिको घटनालाई राजनैतिक प्रतिशोध भन्दै पार्टीले चलाएको हस्ताक्षर अभियानका बारेमा प्रतिवेदन पेश गरेका थिए ।

यी पाँच प्रतिवेदनमाथि सात समूह बनाएर छलफल भएको थियो । विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा र रुपन्देही जिल्ला समितिले थप सुझावसमेत दिएका थिए । रास्वपाको विधानमा विस्तारित बैठकको व्यवस्था नभए पनि विशेष अवस्थामा विधानको धारा ८७ को संक्रमणकालीन व्यवस्था अनुसार यस्तो बैठक राखेको पार्टीले जनाएको छ । विस्तारित बैठकमा आएका विषय केन्द्रीय समितिको सुझावका रुपमा रहने छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully